मकवानपुरमा मतगणना शुक्रबार हुने

हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना गर्न तारजालीसहित ठाउँ बनाइएको छ ।

फाल्गुन २१, २०८२

सुवास विडारी

Counting of votes in Makawanpur to take place on Friday

मकवानपुर — मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानबाट मात्र सुरु हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार भोलि ७ बजेका लागि सर्वदलीय बैठक आव्हान गरिएको छ । उक्त बैठक पश्चात् सर्वसहमतिमा गणना प्रक्रिया अगाडि बढाइनेछ।

जिल्लाभरको मतपेटिका राति १२ बजेसम्म संकलन गरिसक्ने जनाइएको छ। ‘राति १२ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने गरी हामीले तयारी गरेका छौं,’ उनले  भने, ‘मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने छौं ।’

हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना गर्न तारजालीसहित ठाउँ बनाइएको छ ।

मकवानपुरमा ५५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । मतदानकोसमय सीमा ५ बजेसम्म केही स्थानमा मतदाताहरु लाइन बसेका कारण अन्तिम संख्याआउन अझै केही समय लाग्नेछ । 
‘हामी तथ्यांक संकलन गरिरहेका छौं । तर, ५५ प्रतिशतभन्दा बढी मतदान भएको हाम्रो सुरक्षा निकायले तथ्यांक सकंलन गरेका छन्,’ उनले भने ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

३७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख  हरिप्रसाद ढकालले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully