रामेछापमा १०६ वर्षीया मानकुमारीले गरिन् मतदान

मन्थली नगरपालिका–१२ की १०६ वर्षीया मानकुमारी पाण्डेले बिहीबार मन्थली नगरपालिका–१२ स्थित गेलुमा रहेको मावि सिक्राल केन्द्रबाट मतदान गरेकी हुन्।

फाल्गुन २१, २०८२

नवराज श्रेष्ठ

106-year-old Man Kumari casts her vote in Ramechhap

रामेछाप — रामेछापमा१०६ वर्षीया एक वृद्धाले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्दै लोकतन्त्रप्रति आफ्नो विश्वास प्रकट गरेकी छन्।

मन्थली नगरपालिका–१२ की १०६वर्षीया मानकुमारी पाण्डेले  बिहीबार मन्थली नगरपालिका–१२ स्थित गेलुमा रहेको मावि सिक्राल केन्द्रबाट मतदान गरेकी हुन्।

मतदान अधिकृत डिल्ली अधिकारीका अनुसार पाण्डेलाई आफन्तहरूले मतदान स्थलसम्म ल्याएका थिए।अत्यन्त वृद्ध अवस्थाका कारण उनले आफैँ भोट हाल्न नसके पनि आफन्त सहयोगीमार्फत मतदान गरेकी हुन्।

'१०६ वर्षको उमेरमा मतदान गर्नु सामान्य कुरा होइन। आमा आफैंले भोट हाल्न सक्नुभएन, उहाँले आफन्तको सहयोगमा मतदान गर्नुभयो,' मतदान अधिकृत अधिकारीले भने।

पाण्डेको नागरिकताको प्रमाणपत्रमा विसं १९७६ साउन ५ मा जन्म भएको उल्लेख रहेको उनले बताए। यति वृद्ध अवस्थामा पनि निर्वाचनमा सहभागी भई आफ्नो मत व्यक्त गर्नुपर्छ भन्ने भावना देखाउनु लोकतन्त्रप्रतिको गहिरो विश्वासको उदाहरण भएको अधिकारीले बताए। 

मतदान अधिकृत अधिकारीका अनुसार मावि सिक्राल मतदान केन्द्रबाट ८९ वर्षका हेमबहादुर पाण्डेले पनि मतदान गरेका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully