दोलखामा मत खसाल्न आउनु भन्दै सुरक्षाकर्मीको माइकिङ

विगतका निर्वाचनमा मत खसाल्न नपाएको गुनासो गरेका मतदातालाई सुरक्षाको प्रत्याभूति दिन मौखिक रुपमा परामर्शसमेत दिइएको छ ।

फाल्गुन २०, २०८२

नवराज श्रेष्ठ

Security personnel mike to ask people to come to cast their votes in Dolakha

दोलखा — दोलखामा मतदातालाई मत खसाल्न आउन सुरक्षाकर्मीले माइकिङ गरेका छन् । विगतमा जस्तो घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएकाले ढुक्कसाथ मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आग्रह गरे ।

‘सुरक्षाकर्मीले माइकिङ गरेर मत खसाल्न आउने वातावरण तयार पारेका छन्,' उनले भने, ‘मतदाताको सुरक्षासहित मतदानस्थ र मतपेटिकाको सुरक्षा गर्ने विगतको भन्दा फरक रणनीति बनाइएको छ ।’

अति संवेदनशील मानिएका मतदानस्थमा विगतमा मत खसाल्न नपाएको अनुगमनका क्रममा भेटिएका मतदाताले गुनासो गरेकोले यो पटक ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरेको उनले बताए । कतिपय मतदानस्थलमा मतदाताले वर्षौंदेखि मतदान गर्न नपाएको बताउने गरेका छन् । निर्वाचनका दिन हिंसात्मक झडप र बुथ कब्जा भएको तथ्य फेला परेपछि पहिलोपटक गृहमन्त्री आमेप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निरीक्षणका क्रममा जिल्लाको वैत्यश्वर गाउँपालिका–२ को मतदानस्थलमा आएका थिए ।

गृहमन्त्री अर्याल तीनै सुरक्षा निकायका सुरक्षा रणनीतिको अवस्था बुझेर फर्केका थिए । त्यसलगत्तै नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक सोमेन्द्रसिंह राठेरलाई दोलखा पठाएका थिए । विद्यालय र वडा कार्यालयमा भएका सबैजसो मतदानस्थलको बाहिरी घेरामा सीसी क्यामरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘अति संवेदनशील मानिएका मतदानस्थलमा सम्भव भएसम्म सीसी क्यामरा बाहिरी घेरामा जडान भएका छन्,’ उनले भने, ‘कतिपय मतदानस्थलमा सम्भावना देखिएन, त्यस्ता मतदानस्थलमा सुरक्षाकर्मीले सूक्ष्म निगरानी गर्नेछ ।' कुनै पनि हालतमा फर्जी मत खसाल्न र बुथ कब्जा हुन नदिने गरी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

Security personnel mike to ask people to come to cast their votes in Dolakha

निर्वाचनको समय निजिकिएसँगै मतदाताले शान्तिपूर्ण रुपम निर्वाचनमा सहभागी हुन पाउने कि नपाउने भन्ने प्रश्न यो निर्वाचनबाट सकिने उनले दाबी गरे ।

अतिसंवेदनशील मानिएका मतदानस्थलका मतदातालाई ढुक्क भएर मतदान गर्न घरघरै पुगेर मौखिक परामर्श गरिएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामा बताउँछन् । ‘विगतका निर्वाचनमा मत खसाल्न नपाएको गुनासो गरेका मतदातालाई सुरक्षाको प्रत्याभूति दिन मौखिक रुपमा कतिपय अवस्थामा घरघर पुगेर परामर्शसमेत दिएका छौं,’ उनले भने, ‘मतदातामा उत्साह बढेको छ, सुरक्षित हुने वातावरण बनेको भन्दै मत खसाल्न आउने बताउने गरेका छन् ।’

जिल्ला भित्रिने सवारीसाधनमा जाँच निरन्तर गरिरहेको उनले बताए । 'शंकास्पद लाग्ने व्यक्ति र समूहमाथि पनि निगरानी गरिएको छ । गाउँघर र अति संवेदशील मानिएका क्षेत्रमा रात्रिकालीन गस्ती बढाइएको छ,' उनले भने ।

जिल्लामा कडा सुरक्षा

निर्वाचनलाई शान्तिपूर्ण रुपमा गराउन र मतदातालाई मतअधिकार प्रयोग गर्न जिल्लामा सुरक्षा अवस्था कडा बनाइएको छ । मतदानको दिन हुन सक्ने सम्भावित हिंसात्मक झडप र बुथ कब्जा रोक्न जिल्लाभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

Security personnel mike to ask people to come to cast their votes in Dolakha

निर्वाचन समाग्रीसहित मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुसिकेका छन् । सुरक्षा निकायका तीनवटा संयन्त्रले शान्तिपूर्ण रुपमा निर्वाचन दुई साताअघिबाट अतिसंवेदनशील मानिएका मतदानस्थलहरुमा संयुक्त गस्ती गर्नुका साथै सूक्ष्म निगरानी गरिरहेको जिल्ला सुरक्षा समितिले बताएको छ ।

निर्वाचनकै दिन सधैं अशान्त रहने दोलखा प्रतिनिधिसभाको निर्वाचनका दिन शान्त हुन्छ कि हुन्न भन्ने शंका आम मतदातामा छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा गर्न पहिलोपटक वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा जनपद प्रहरी परिचालन हुनेछन् । यस्तै नेपाली सेना र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी पनि निर्वाचनको सुरक्षा कमाण्ड सम्हाल्न जिल्ला आइपुगेको सुरक्षा समितिले बताएको छ ।

जिल्लाका ९५ मतदानस्थलाई सुरक्षा समितिले अति संवेदशील सूचीमा राखेको छ । २८ मतदानस्थल संवेदशील र १५ मतदानस्थ समान्य सूचीमा राखिएको छ ।

हरेक निर्वाचनमा गोली चल्नु र बुथ कब्जा हुनु दोलखामा सामान्यजस्तै बनेको थियो । २०४८ सालयता भएका सबै निर्वाचनमा सधैं हिंसात्मक झडप र बुथ कब्जा भएका छन् ।

बिहीबार हुने निर्वाचनमा यस्ता गतिविधि पूर्ण रुपमा निस्तेज गरिने प्रजिअ हरिप्रसाद घिमिरेले बताए । उनका अनुसार त्यस्ता स्थान पहिचान गरेर दुई साताअघि नै नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको छुट्टाछुट्टै बेस राखिएको छ ।

००

अति संवेदनशील मानिएका क्षेत्रका मतदातालाई मौखिक परामर्शसहित मत खसाल्न आउन आग्रह गर्दै सुरक्षाकर्मी । तस्बिर : कान्तिपुर

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully