दुर्घटनामा घाइते भएका ७ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरमा काठमाडौँ पठाइएको छ ।
रामेछाप — निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी बोकेको गाडी दुर्घटना हुँदा रामेछापमा एक मतदान अधिकृतसहित २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित सिरुवारिको शीतलादेवी माध्यमिक विद्यालय र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारस्थित मतदान केन्द्रका लागि मतपत्र तथा निर्वाचन सामग्री लिएर गएको ना ७ ख ६७६८ नम्बरको गाडी सडकमा मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा रामेछाप नगरपालिका–३ साँघुटारस्थित 'ख' मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका मन्थली नगरपालिका–१ भैँसेश्वरका ५७ वर्षीय डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा सोमबार साँझ पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी सप्तरीको रुबनी गाउँपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक परशुराम यादवको पनि मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ३ महिला र ४ पुरुषगरी ७ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार सोमबार अपराह्न रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा सिरुवारीस्थित क मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका अन्दाजी ५०–५५ वर्षका कृष्णप्रसाद घिमिरे, ३५ वर्षीया पूजादेवी सुनुवार, गाडी चालक खाँडादेवी गाउँपालिका–४ का ४७ वर्षीय शम्भुबहादुर मानन्धर, खाँडादेवी गाउँपालिका–५ की ३५ वर्षीया दुर्गा कार्की, खाँडादेवी गाउँपालिका–४ का ३९ वर्षीय भीमबहादुर मानन्धर तथा मन्थली नगरपालिका–३ कठजोरका ३९ वर्षीय केदारकुमार रोक्का रहेका छन् ।
त्यस्तै, रामेछाप नगरपालिका–२ की २७ वर्षीया सबिना खड्का र खाँडादेवी गाउँपालिका–२ बस्ने ३५ वर्षीया कमला ढुंगेल खत्री सामान्य घाइते भएका छन् । घाइते सबैलाई काठमाडौंस्थित आर्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
