मन्थलीस्थित मन्थली अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिए ।
रामेछाप — निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । मन्थलीस्थित मन्थली अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिए ।
उपचारका क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको अस्पतालले जनाएको छ । उनी रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए । मृतक घिमिरे मन्थली नगरपालिका–७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत हुन् ।
सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए भने ३ जना हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।
यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो ।
रामेछाप नगरपालिका-२ को शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रविराज खड्काका अनुसार उनीसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन् । दुर्घटनामा घाइते भएका २ पुरुष र ३ महिलालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।
