विकट भूगोल र कमजोर पूर्वाधार भएको यो क्षेत्रका मतदाता दशकौंदेखि दोहोरिँदै आएका चुनावी आश्वासनबाट आजित छन् ।
What you should know
सिन्धुपाल्चोक — सदरमुकाम चौताराबाट करिब ६५ किलोमिटर पार गरेपछि पुगिन्छ जुगल गाउँपालिका का दिपु, तेगा, तेम्बाथान र गुम्बाथान ।
विकट भूगोल र कमजोर पूर्वाधार भएको यो क्षेत्रका मतदाता दशकौंदेखि दोहोरिँदै आएका चुनावी आश्वासनबाट आजित छन् ।
संघ र प्रदेशसम्मका निर्वाचनमा उम्मेदवारहरु घोषणापत्र बोकेर गाउँ पुग्ने तर कार्यान्वयन फितलो हुने गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई सबैले आश्वासन मात्रै बााडेर फर्किन्छन्, खास विकास भने देखिँदैन,’ जुगल–३ गुम्बाथानका मिङमार लामाले भने, ‘पहिले त नेताको अनुहार देख्नै मुस्किल पर्थ्यो । स्थानीय तहको सिमित बजेटबाट उल्लेख्य काम भए पनि संघबाट हुनुपर्ने खास काम भएको देखिएन ।’
सिन्धुपाल्चोक–१ मा एमालेका सरेश नेपाल, कांग्रेसका जंगबहादुर लामा, नेकपाका माधव सापकोटा, रास्वपाका भरतप्रसाद पराजुली र राप्रपाका राममणि न्यौपाने चुनावी मैदानमा छन् । यीमध्ये अधिकांश उम्मेदवार यीदुर्गम बस्तीमा पुगेर सडक स्तरोन्नति, रोजगारी र धार्मिक पूर्वाधार निर्माणका प्रतिबद्धता जनाउँदै फर्किएका छन् । ‘हामीले सडक सहज बनाउन कालोपत्र र रोजगारीजस्ता माग राखेका छौं,’ स्थानीय पेमा शेर्पाले भनिन् । साता दिनअघि जुगलको गुम्बाथान पुगेका रास्वपाका उम्मेदवार पराजुलीले सडक सहज र गुम्बाजस्ता संरचना बनाइदिने प्रतिबद्धतासहित मत मागे । उनले गरेको प्रतिबद्धता र नयाँ अनुहार भन्दै स्थानीयले परम्परागत शैलीमा नाच र पूजाआजा गर्दै सम्मान स्वागत गरेका थिए ।
सडक सहज सञ्चालनमा नरहेकाले गर्भवती, सुत्केरी र गम्भीर बिरामी अझै जोखिमपूर्ण यात्रामा निर्भर छन् । तेगा फड्के र नेशमखोला क्षेत्रमा यसअघि झोलुंगे पुल नहुँदा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना बेपत्ता भएका थिए । हाल पुल निर्माण भए पनि बाढीपहिरोको जोखिम यथावत रहेको स्थानीय बताउँछन्। दुई वर्षअघि क्याङसिङ, अम्बाखर्क र गुम्बाथानमा विद्युत् विस्तार गरिएको थियो। अहिले बिजुली तेम्बाथानसम्म पुगेको छ ।
जुगल–३ मा निर्माणाधीन ३६ मेगावाट क्षमताको ब्रम्हायाणी जलविद्युत आयोजनाले गाउँपालिकासँगको समन्वयमा सडकको ट्रयाक खोलेपछि आवागमन केही सहज भएको छ । यसअघि बिरामी र आपतकालीन अवस्थाका नागरिकलाई हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो । यसपटक भने मतदातामा केही उत्साह देखिन्छ ।
२०७९ को निर्वाचनयता निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र तोकेपछि घण्टौं हिँडेर मतदान गर्नुपर्ने बाध्यता हटेको छ । जुगल–३ का तेगा, तेम्बाथान र गुम्बाथानका २ सय २७ मतदाताका लागि तेम्बाथान आधारभूत विद्यालयमा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार यसअघि मतदाताले सातुसामल बोकेर आधा दिन हिँडेर मतदान केन्द्र पुग्नुपर्थ्यो। मतदान केन्द्र टाढा हुँदा केही प्रतिनिधि मात्रै सामूहिक रूपमा भोट हाल्न जान्थे,’ उनले भने ।
तर जुगल–२ का दिपु र साङलुङका करिब ३० परिवारले भने अझै पुरानै सास्ती भोग्नुपर्ने भएको छ । उनीहरुलाई मतदानका लागि गोल्चे पुग्न दिनभर हिँड्नुपर्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोकमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् ।
जिल्लामा १ सय ४६ मतदानस्थल र ३ सय ३८ मतदान केन्द्र छन्। सिन्धुपाल्चोक–१ मा ८३ मतदान स्थल र १ सय ७२ केन्द्र कायम छन्। दुर्गम बस्तीका मतदाताले यसपटक आश्वासनभन्दा कार्यान्वयन हेर्ने बताएका छन्।
