रामेछापमा एक महिनामा ५ सवारी दुर्घटनामा १५ जनाको मृत्यु, ३ बेपत्ता

गत माघ महिनामा मात्रै जिल्लाभित्र ५ वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।

फाल्गुन ४, २०८२

नवराज श्रेष्ठ

15 killed, 3 missing in 5 road accidents in Ramechhap in a month

रामेछाप — रामेछापमा पछिल्लो एक महिनाको अवधिमा भएका विभिन्न ५ वटा सवारी दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ३ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार गत माघ महिनामा मात्रै जिल्लाभित्र ५ वटा सवारी दुर्घटना भएका हुन्। ती दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्। 

यसैबीच, माघ २७ गते मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक भएको यात्रुवाहक बस दुर्घटनामा बेपत्ता भएका एक बालकको शव फेला परेको छ। उक्त दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ, मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार बेपत्ता भएका थिए।

बेपत्तामध्ये मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव दुर्घटनाको सातौं दिन सोमबार बिहान सिन्धुलीको तल्लो खुर्कोट बजारभन्दा तल तामाकोशी नदी किनारमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा हराइरहेका एक बालकसहित दुई जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ।

माघ २७ गते काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे–ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) को यात्रुवाहक बस मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully