प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका हुन् । 

फाल्गुन ३, २०८२

रासस

रसुवा — रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 

लौरीविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाई सेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।

स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकोप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ ।

हेलिकोप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए । तीमध्ये केही कम्पनीका हेलिकोप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए, भने कोही कम्पनीका हेलीले बिहानैको समयमा भने उडान सामान्य रूपमा सञ्चालन गरेका थिए ।

गोसाइँकुण्डको जल निकास नजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो ।

धार्मिक विश्वासअनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

रासस

Link copied successfully