वित्त आयोगको मूल्यांकनमा मकवानपुरमा बागमती पहिलो

आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्यसम्पादनमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै बागमती गाउँपालिका जिल्लामा पहिलो भएको हो ।

फाल्गुन ३, २०८२

प्रताप विष्ट

हेटौंडा — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा बागमती गाउँपालिकाले ६६.३९ अंक प्राप्त गर्दै मकवानपुरका १० वटै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ।

आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्यसम्पादनमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै बागमती गाउँपालिका जिल्लामा पहिलो भएको हो । 

आयोगको मूल्यांकनमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ६५.९३ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ। कैलाश गाउँपालिका ६२.११ अंक हासिल गर्दै तेस्रो स्थानमा छ।  

जिल्लामा शीर्ष स्थानमा परेका यी स्थानीय तहहरुले वित्तिय अनुशासन, बजेट तथा कार्यत्रम कार्यान्वयन क्षमता, आन्तरिक राजस्व परिचालन, योजना व्यवस्थापन, पारदर्शिता, उत्तरदायित्व र सुशासनजस्ता सूचकहरूमा उल्लेखनीय प्रगति देखाएका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गरी सोही आधारमा वित्तीय समानीकरण तथा प्रोत्साहन अनुदान वितरण गर्ने व्यवस्था छ।  बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी दिनमा सेवा प्रवाहलाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने बताए । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully