डाेलेश्वरमा शिवरात्रीकाे तयारी पूरा, आधा घण्टाभित्रै मन्दिर दर्शनको व्यवस्थापन

शिवरात्रीमा भक्तजनलाई आधा घण्टाभित्र मन्दिरको गर्भगृहमा प्रवेश गरी दर्शनकाे व्यवस्था गर्ने तयारी गरेकाे जनाएकाे छ ।

फाल्गुन २, २०८२

सुन्दर शिल्पकार

What you should know

भक्तपुर — भक्तपुरकाे डाेलेश्वरस्थित केदारनाथकाे शिर मानिने डाेलेश्वर महादेवकाे मन्खिरमा महाशिवरात्रीकाे तयारी पूरा भएकाे जनाएकाे छ ।

मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी आइतबारको पर्वलाई मध्यनजर गर्दै भक्तजनलाई आधा घण्टाभित्र मन्दिरको गर्भगृहमा प्रवेश गरी दर्शनकाे व्यवस्था गर्ने तयारी गरेकाे जनाएकाे छ । 

समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा शिवरात्री पर्व मूल समारोह समिति गठन गरिएको छ।शिवरात्रीलाई डाेलेश्वरमा आएका साधुसन्तहरुलाई ५ दिनका लागि भोजन, दक्षिणा, कम्बल, धोती गरी प्रतिसाधु ३५ सय रुपैयाँ समितिको तर्फबाट वितरण गरिने जनाइएकाे छ । शिवरात्रीका लागि तीन सय भन्दा बढी साधुसन्त डाेलेश्वर आउने आयाेजकले जनाएकाे छ ।

महाशिवरात्रीमा आएका साधुसन्तलाई धुनी बाल्न दाउराको व्यवस्थाको लागि दाउरा लोड गर्न रणशेर गण सूर्यविनायकबाट सहयोग गरिएकाे छ । महाशिवरात्रीका दिन आउने भक्तजनलाई प्रसादका लागि काठमाडाैंकाे मानव सेवा संघ कुलेश्वरले व्यवस्थापन गरेकाे जनाइएको छ ।

सुरक्षा व्यवस्थाका लागि महानगरिय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत जगाती र प्रहरी चौकी डोलेश्वर, ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीबाट व्यवस्थापन गरिएको उनले बताए । सेनाको रणशेर गण सूर्यविनायकबाट स्वास्थ्य शिविर संचालन हुने जनाइएको छ । मेलामा विभिन्न संघसंस्था तथा महिला समूहलाई स्वयंसेवक परिचालनको लागि जिम्मेवारी दिइने जनाएकाे अध्यक्ष बस्नेतले बताए। आइतबार नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाबाट रक्तदान कार्यक्रम पनि आयोजना गरिएको उनले बताए । 

अघिल्दा वर्ष झै शिवरात्रीमा आएका साधुसन्तलाई क, ख, ग गरी तीन आधारमा वर्गीकरण गर्दै सोही अनुसार दक्षिणा समेत उपलब्ध गराइने उनले बताए । क वर्गका साधुसन्तका लागि १ हजार १ सय ५ रुपैयाँ, ख वर्गका  लागि ७ सय र ग वर्गकाका लागि ५ सय ५५ रुपैयाँका दरले दक्षिणा साथ १ थान कम्बल र ए१ थान धोती प्रदान गरिने आयाेजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रम अनुसार शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म गर्भगृहमा प्रवेशका लागि खुल्ला रहने जनाईएकाे छ ।

सुन्दर

Link copied successfully