बागमतीका २ सय ८४ मतदानस्थलमा टिप्दैन प्रहरी सञ्चार

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा र रामेछापका केही मतदानस्थलमा सम्पर्कका लागि दुई थान स्याटेलाइट फोन आवश्यक पर्ने प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

फाल्गुन २, २०८२

प्रताप विष्ट

What you should know

हेटौंडा — बागमती प्रदेशमा उपत्यकाका तीनबाहेक १० वटा जिल्लाका १ हजार २ सय ८८ मध्ये २ सय ८४ मतदानस्थलमा प्रहरीको सञ्चार सेटबाट सम्पर्क नहुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार १० जिल्लामा नेपाल टेलिकमको नेटवर्क नटिप्ने १२ मतदानस्थल र एनसेलको नेटवर्क नटिप्ने २ सय ३५ मतदानस्थल रहेका छन् । दुवै सेवाप्रदायकको नेटवर्कबाट सम्पर्क हुन सक्ने मतदानस्थल १ हजार २ सय १८ रहेका छन् । 

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा र रामेछापका केही मतदानस्थलमा सम्पर्कका लागि दुई थान स्याटेलाइट फोन आवश्यक पर्ने प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए । 

बागमती प्रदेशका ३ सय १५ मतदानस्थलमा मात्रै हेलिप्याडको सुविधा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १९ मतदानस्थलमा सडक नपुगेको र सडक संरचना नभएका कारण १३ मतदानस्थलमा कुनै पनि सवारीसाधन जान नसक्ने वरिष्ठ प्रहरी उपरीक्षक गुरुङले बताए । 

धादिङ क्षेत्र नम्बर २ मा पर्ने रुबीभ्यालीका ८ वटा मतदानस्थलमा पैदल जानुपर्ने छ । दोलखाका ४  र रसुवाको १ मतदानस्थलमा सडक सुविधा नरहेको उनले बताए । २ सय ८ मतदानस्थलमा साना चारपांग्रे सवारी पुग्ने र १ हजार ६७ मतदानस्थलमा ठूला सवारीसाधन पुग्ने अवस्था रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमतीमा पत्यकाबाहेक १० जिल्लामा प्रतिनिधिसभा सदस्यका १८ निर्वाचन क्षेत्र छन् । चितवनमा ३, मकवानपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुलीमा २/२ तथा रसुवा, दोलखा र रामेछापमा १/१ निर्वाचन क्षेत्र रहेका छन् । 

१० जिल्लामध्ये सबैभन्दा धेरै काभ्रेमा १८९ मतदानस्थल छन् भने सबैभन्दा थोरै मतदानस्थल रस्वुामा ३६ वटा छन् । यी जिल्लामा धेरै मतदाता भएको मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी मावि मतदानस्थलमा ९ वटा मतदान केन्द्र छन् । जहाँ९ हजार २६७ मतदाता छन् । यसैगरी सबैभन्दा कम दोलखाको विगु गाउँपालिका-१ लुम्नाङ आधारभूत विद्यालयमा मतदानस्थलमा ६९ जना मतदाता छन् । 
यी १० वटा जिल्लामा भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका र नगरपालिका २५ सहित ९८ वटा गाउँपालिका छन् । यी सबै क्षेत्रमा २४ लाख ९६ हजार ९३६ मतदाता रहेका छन् । तीमध्ये १२ लाख २० हजार ४२६ महिला र १५ जना अन्य मतदाता छन् ।  

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षा योजना तयार गरिएको बताए । उनले शान्तिपूर्णरुपमा मतदान सम्पन्न गराउन मतदानस्थलको सुरक्षा, संवेदनशील क्षेत्रको पहिचान तथा आवश्यक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरी र निर्वाचन प्रहरी गरेर २५ हजार भन्दा बढी परिचालित हुने जनाएको छ । कार्यालयका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा नेपाल प्रहरीबाट ९ हजार ३९ र निर्वाचन प्रहरी १६ हजार ४ सय ३५ गरी २५ हजार ४ सय ४७ जना परिचालित हुने छन्।

निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, सुरक्षा संवेदनशीलता, हेभीवेट उम्मेदवारको क्षेत्रलगायतका आधारमा वर्गीकरण गरी सुरक्षा योजना तयार गरिएको उनले बताए । प्रहरी प्रमुख रेग्मीले जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार र भागेका कैदीका कारण निर्वाचनमा कुनै असर नपर्ने दाबी गरे । लुटिएका अधिकांश हतियार फिर्ता हुनेक्रममै रहेको उनले जानकारी दिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully