शान्तिको कामना गर्दै थाइल्यान्डबाट भिक्षुको पैदल यात्रा हेटाैंडामा

‘शान्तिका लागि धम्म यात्रा भगवान बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने उद्देश्यका साथ थाइल्यान्डबाट पैदल यात्रामा निस्किएको २२ जना बौद्ध भिक्षुहरुको टोली बिहीबार हेटौंडा आइपुगेको थियो ।

फाल्गुन १, २०८२

प्रताप विष्ट

What you should know

हेटौ‌ंडा — विश्व शान्तिको कामना गर्दै थाइल्यान्डबाट पैदल यात्रामा निस्किएका २२ जना बौद्ध भिक्षुहरुको टोली हेटौंडाबाट चितवनतर्फ हिँडेको छ ।

‘शान्तिका लागि धम्म यात्रा भगवान बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने उद्देश्यका साथ थाइल्यान्डबाट पैदल यात्रामा निस्किएको २२ जना बौद्ध भिक्षुहरुको टोली बिहीबार हेटौंडा आइपुगेको थियो । थाइल्यान्डको थाम्पाइ विहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा रहेको टोली बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रामा रहेको छ ।

भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरेको यो टोली बुधबार राति बाराको अमलेखगन्जमा बसेको थियो। बिहीबार हेटौंडा आइपुगेको भिक्षुहरुको टोलीलाई हेटौंडास्थित प्रज्ञा महाविहारले आवासको व्यवस्थापन गरेको थियो । विहारका अध्यक्ष पूर्ण शाक्य र नेपाल मगर बौद्ध सेवा समाज मकवानपुरका अध्यक्ष अकबर ठाडा मगरले हेटौंडा–४ कर्राचोकमा भिक्षुहरुलाई स्वागत गरेका थिए । बिहीबार राति हेटौंडामा बसेका भिक्षुहरु शुक्रबार बिहान चितवनतर्फ प्रस्थान गरेका हुन् । 

विश्व शान्तिको कामना गर्दै गत फेब्रुअरी ८ तारिखदेखि गोल्मराज बुद्ध विहारबाट सुरु भएको यो पदयात्रा आगामी फेब्रुअरी २२ तारिखमा कपिलवस्तु पुगेर समापन हुने कार्यतालिका रहेको छ । टोलीमा आइल्यान्डका १५ जना, लाओसका १ जना, भारतका ४ जना र नेपालका २ जना भिक्षु रहेका छन् । यस अभियानमा बाटोमा इच्छुक अन्य भिक्षुह पनि सहभागी हुन पाउने छन् ।  

भिक्षु भन्तेले विगत ७ वर्षदेखि विश्वका विभिन्न देशमा धम्म यात्रा गरिँदै आएको र नेपालको यात्रापछि श्रीलंकामा धम्म यात्रा गर्ने बताए । 

बुद्धजन्मभूमिमा आएर बुद्धको पूजा गर्न पाउँदा गर्व महसुस हुने र धम्म यात्रा गर्दा उपासकहरुले पनि पुण्यकर्म गर्न पाउने उनी बताउँछन् । भिक्षु बिहान एक छाक मात्रै खाना खाने र बेलुका जुस, पानी खाएर बस्ने गोल्मराज बुद्ध बिहारका भिक्षु मेधन्करले जानकारी दिए । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully