टुचन चुडिँदा तराई-मधेश द्रुतमार्गका एक मजदुरको मृत्यु, एक घाइते

एक्कासी टुचन मेसिनको ब्रेक फेल भएर तल खस्दा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गापा घर भई हाल द्रुतमार्गमा काम गर्ने २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।

माघ २८, २०८२

प्रताप विष्ट

हेटौंडा — निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गको भीमफेदी गाउँपालिका८ महादेवटारमा काम गर्ने क्रममा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । 

अर्का एक जना घाइते भएका छन । घाइतेलाई उपचार गर्न काठमाडौं लगिएको छ । मकवानपुर भिमफेदी गाउपालिका८ महादेवटार छोक्रेडाँडास्थित निर्माणधीन काठमाडौं– तराई मधेस दुत मार्ग (फास्ट ट्रयाक) को १ नम्बर पुलको खाडल खन्ने क्रममा काम सकेर खाल्डोबाट टुचनमा बसी आउने क्रममा एक्कासी टुचन मेसिनको ब्रेक फेल भएर तल खस्दा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गापा- घर भई हाल द्रुतमार्गमा काम गर्ने २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो । 

त्यस्तै ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचनले ढाडमा लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए ।  

काम सकेर टुचनमा बसेर आउने क्रममा टुचनको तार चुडिंएर टुचन २१ मिटर तल खसेको थियो। उक्त टुचन पुलको खाल्डो खनेर फर्किएको थियो।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully