अख्तियार अहिले सक्रिय भएर भ्रष्टचारीहरुलाई कानुनी दायरामा ल्याउन थालेको प्रशंसा गर्दै उनले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हाम्रा जीवनशैली सादगी र व्यवहार पारदर्शी हुनुपर्छ ।’
What you should know
हेटौंडा — बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले भ्रष्टाचार समाजको प्राणघातक क्यान्सर रोग भएकाले यसलाई कानुनको दायरामा ल्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । सार्वजनिक पदधारण गरेकाहरुको जीवनशैली सादगी र पारदर्शी भएमा मुलुकमा भ्रष्टाचार क्रमशः न्यूनीकरण भएर जाने उनको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार मुलुकको समृद्धि, न्याय र कानुनको शत्रु रहेको उल्लेख गर्दै भने, ‘अख्तियार एक्लैले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन, सबै क्षेत्रको सकारात्मक सहयोग जुटेमात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ ।’
अख्तियार अहिले सक्रिय भएर भ्रष्टचारीहरुलाई कानुनी दायरामा ल्याउन थालेको प्रशंसा गर्दै उनले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हाम्रा जीवनशैली सादगी र व्यवहार पारदर्शी हुनुपर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं भन्ने तर व्यवहारमा नउतार्ने समस्या रहेको बताए । ‘जो जहाँ छ उसले इमान्दार र निष्ठापूर्वक काम गरेमा भ्रष्टाचार मौलाउने थिएन,’ उनले भने,‘भ्रष्टाचार मुलुकको विकास र समृद्धिको बाधक भएको छ । मुखले मात्र भ्रष्टाचार गर्दिनँ भनेर हुँदैन, व्यवहारमा नै देखाउनु पर्छ ।'
‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार’ भन्ने मूलनारा रहेको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रण केवल आयोगको मात्र दायित्व नभई राज्यका सबै अंग, सार्वजनिक पदमा आसीन व्यक्तिहरु तथा आमनागरिकको साझा जिम्मेवारी रहेको बताए ।
भ्रष्टाचार निवारण दण्डात्मक उपायबाट मात्र सम्भव हुँदैन भन्ने मान्यताअनुसार आयोगले सचेतना, शिक्षा र अन्तरक्रियालाई पनि प्राथमिकतामा राखेको उनले जानकारी गराए । उक्त अवसरमा आयोगका प्रमुख पुडासैनीले आयोगको कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०८१/८२ मा कूल २७६६ उजुरी दर्ता भएकोमा ७० दशमलव ४२ प्रतिशत (१९४८) उजुरी फर्छ्यौट भई ८१८ चालु आव २०८२/८३ मा सरी आएको तथ्यांक प्रस्तुत गरेका थिए ।
चालु आवको हालसम्म ९५८ उजुरी दर्ता भई जम्मा उजुरी १७७६ रहेकोमा ७३१ थान फर्छ्यौट गरेर १०४५ उजुरी छानबिनको क्रममा रहेको जानकारी गराए । गत आवमा आयोगको कार्यालय हेटौंडामा दर्ता भएका उजुरीमध्ये संघीय मामिला मन्त्रालय (स्थानीय तह) सँग सम्बन्धित ५३ दशमलव ११ प्रतिशत उजुरी परेका थिए ।
