विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले सबैको सहयोग र सद्भावबाट यो विश्वविद्यालयले छोटो समयमा प्रगति गर्न सफल भएको बताए ।
हेटौंडा — मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार प्रथम दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि डा.जमिल सलिमले छोटो समयमा विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा गरेको प्रगति देखेर खुसी लागेको बताए । विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले सबैको सहयोग र सद्भावबाट यो विश्वविद्यालयले छोटो समयमा प्रगति गर्न सफल भएको बताए । यो विश्वविद्यालयलाई विश्वस्तरीय बनाउने उद्देश्यका साथ काम गरिरहेको उनले बताए।
चित्लाङको ताकाटारमा निर्माण गरिएको यो विश्वविद्यालयलाई सरकारले ९ सय ८० रोपनी जग्गाको भोगाधिकार दिएको छ । यसअघि उक्त जग्गा स्थानीय स्वच्छन्द भैरव माविको नाममा थियो । आइतबार आयोजित प्रथम दीक्षान्त समारोहमा जैविक कृषि र किवी फलमा स्नातकोत्तर गर्ने धनकृष्ण आचार्य, सवनम सुवेदी र सुशील राईलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अहिले उक्त विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधी (पिएचडी) गर्ने ६६ जना छात्रछात्रा अध्ययनरत छन् । १३ जना पिएचडी र ५३ जना स्नातकोत्तरका विद्यार्थी छन् । उक्त विश्वविद्यालयमा अन्तराष्ट्रिय स्तरका १६ वटा प्रयोगशाला रहेका छन् । यहाँ अर्गानिक एग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसिय ईन्टिलिजेन्स र डेटा साईन्सको माष्टर स्नातकोत्तर र पिएचडीको पढाई सुरु गरेको विश्वविद्यालय विकास समितिका अध्यक्ष जोशीले जानकारी दिए ।
विश्वविद्यालयले पहिलो वर्ष नै ३२ जनालाई पढाउने लक्ष्य लिएको थियो । तर विद्यार्थी छनोट गर्ने क्रममा थोरै विद्यार्थीमात्र उत्कृष्ट फेला परेकाले उनीहरुलाई पढाउन थालिएको जनाएको छ । उक्त विश्वविद्यालयले ५ वर्षको विचमा ८ सय जना विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ । थानकोटवाट चित्लाङ १२ किलोमिटरको दुरीमा छ ।
विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत पनि सोलारमार्फत उत्पादन गरिसकेको छ । अहिले विद्युत आवश्यक नपरेकाले विद्युत प्राधिकरणको ११ केभीए सिस्टममा जडान गरिसकेको छ । उत्पादित विद्युत पालुङ वितरण केन्द्रको विद्युत प्रणालीमा जोडिएको छ । उत्पादित बिजुली नेट मिटरिङको माध्यम मार्फत पालुङ वितरण केन्द्रमा जडान गरिएको प्राधिकरणको वितरण केन्द्रले जनाएको छ ।
विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा विक्री गरेको जनाएको छ । प्रतिवर्ष विश्वविद्यालयले प्राधिकरणलाई करिब ३० लाख रुपैयाँ बराबरको विद्युत विक्री गर्दै आएको उक्त विश्वविद्यालयका बोर्ड अफ टष्ट्री अध्यक्ष एव उद्योगपति पदम ज्योतीले बताए ।
एक सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत उत्पादन हुन्छ । करिब १३ करोडको लागतमा सोलारमार्फत विद्युत उत्पादन गरिएको उक्त प्लान्टलाई ‘पम्प स्टोरेज पावर प्लान्ट’ भनिन्छ । विद्युतको सप्लाई रोकिन गएमा तत्कालै विद्युत उत्पादन गर्न पम्प स्टोरेज पावर प्लान्ट निर्माण गरिएको समितिका अध्यक्ष जोशीले बताए । यो प्रविधि नेपालमै पहिलो रहेको उनले बताए।
उक्त विश्वविद्यालयमा भौतिक पूर्वाधारलगायत विभिन्न क्षेत्रमा हालसम्म २ अर्ब ३० करोड रुपैयाँ लगानी भइसकेको छ । विश्वविद्यालय संचालन गर्न स्वदेशी एव विदेशी व्यक्तिबाट पनि सहयोग लिएको जनाइएको छ।
