माडीमा बागमती सालक सम्मेलन

आजै सकिने सम्मेलनले सालक संरक्षण योजनासहित माडी घोषणापत्र जारी गर्ने छ।

माघ २६, २०८२

रमेशकुमार पौडेल

Bagmati Salak Conference in Madi

What you should know

चितवन — धमिरा र कमिला खाएर किसान र प्रकृतिलाई गुन लगाइरहेको वन्यजीव सालक संरक्षणको योजना बनाउन प्रथम बागमती सालक सम्मेलन सुरू भएको छ । ‍‍

स‍ोमबार चितवनको माडीमा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले सालक सम्मेलनको उद्घाटन गरे । आजै सकिने सम्मेलनले सालक संरक्षण योजनासहित माडी घोषणापत्र जारी गर्ने छ।

प्रदेश वन तथा वातावरण मन्त्रालयले सम्मेलन आयोजना गरेको हो । ठूलो कत्ला अर्थात खपटाले ढाकिने सालकका नेपालमा मुख केही चुच्चो हुने तामे र मुख केही थप्चो हुने कालो गरि दुई प्रजातिको सालक पाइने यो जीवका बारेमा पिएचडी गरेका तुलसीलक्ष्मी सुवालले बताइन् ।

चुरे र महाभारत पर्वत श्रृङ्खलाको तीन हजार मिटर उचाइका ६१  जिल्लामा यो जनावर पाइन्छ । सालक नभएको भए मान्छेलाई हानी गर्ने धमिरा र कमिला नियन्त्रणका लागि ठूलो बजेट खर्च गर्नु पर्ने उनले बताइन् ।

तर खपडा र मासुमा लागि यसको चोरी सिकारी हुने गरेको छ । जसले यसको संरक्षणमा चुनौति थपिएको छ  । वन फँडानी र डढेलोले बासस्थल विनास भइरहेको छ । खेतीमा रासायनिक मल विषादीले आहारामा संकट ल्याएको सुवालले बताइन् । 

सम्मेलनको संयोजन गरेको चितवन डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले सालक संरक्षणका योजनाका लागि जनचेतना र नीतिगत विषय समेटेर माडी घोषणापत्र जारी हुने बताए ।

सालक संरक्षित जीव भएकाले कानुनले यसलाई  मार्न र अंगको बिक्री र ओसारपसार गर्न रोक लगाएको छ । यसो गरे पाँचदेखि १५ वर्ष कैद र १० लाख रूपैयाँसम्म जरिवाना हुने वन अधिकृत आचार्यले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully