निर्वाचनमा अन्तरघात गर्नेमाथि प्रमाणका आधारमा कारबाही हुन्छ: नेता घिमिरे

कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले अन्तरघात रोक्न र पार्टी अनुशासन कडाइका साथ लागू गर्न आइतबार मात्रै केन्द्रीय समितिले अनुशासन समिति गठन गरेको बताए।

माघ २६, २०८२

नवराज श्रेष्ठ

Action will be taken against those who interfere in the election based on evidence: Leader Ghimire

What you should know

रामेछाप — कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्ने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।

निर्वाचन अभियानका लागि कांग्रेस केन्द्रबाट रामेछापमा खटिएका केन्द्रीय सदस्य घिमिरेले सोमबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा देशभर नै अन्तरघातको आशंका रहेको भन्दै पार्टी नेतृत्व यस विषयमा गम्भीर रहेको स्पष्ट पारे।

उनले भने, 'अहिले देशभर नै अन्तरघातको आशंका छ। तर अहिले सभापति गगन थापाको नेतृत्वमा आएको नयाँ नेतृत्व यो विषयमा गम्भीर छ। विगत होस् वा वर्तमान कांग्रेस भन्ने र कांग्रेसको सुविधा लिने तर पार्टीलाई सहयोग नगरी अन्तरघात गर्ने, भोट भाँड्ने त्यस्तो प्रमाण केन्द्रमा दिनुहोस्, कारबाही हुन्छ।'

घिमिरेका अनुसार अन्तरघात रोक्न र पार्टी अनुशासन कडाइका साथ लागू गर्न आइतबार मात्रै केन्द्रीय समितिले अनुशासन समिति गठन गरेको छ।

नेता तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय समावेशी अनुशासन समिति बनाइएको उनले जानकारी दिए। उनले भने,'पहिले जस्तो भजन तथा गीत गाउन, भट्ट्याउन मात्रै समिति बनाइएको होइन । समितिले प्रमाणका आधारमा कारबाही गर्छ ।'

उनले पार्टीभित्र विधानले दिएको अधिकार प्रयोग गर्दै असन्तोष व्यक्त गर्न र राय राख्न पाइने भए पनि निर्वाचनको बेला पार्टीकै उम्मेदवारलाई हराउने नियतले गरिने गतिविधि अस्वीकार्य हुने बताए।

रामेछापमा कांग्रेस एक ढिक्का भएर अघि बढिरहेको आफूले पाएकाले यस निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा उनले कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका पार्टी सभापति गगन थापाको खुलेर प्रशंसा गरे। उनले भने, 'भिजन, आँट, प्रतिबद्धता, उमेर र काम गर्ने विधि–व्यवहारका कारणले गगन थापा भन्दा उत्तम यो देशलाई नेतृत्व गर्न सक्ने, नेपाललाई उन्नत अनि विकसित बनाउन सक्ने र नेपालीलाई सेवा पुर्‍याउन सक्ने अर्को कुनै पनि पात्र र नेता छैनन्।'

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully