तीनवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

आइतबार ९ बजे अग्यौलीस्थित भित्रि सडक खण्डमा तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

माघ २६, २०८२

नारायण शर्मा

नवलपरासी — तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरीका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजबारको मृत्यु भएको छ । उनको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा मृत्यु भएको हो ।

आइतबार ९ बजे अग्यौलीस्थित भित्रि सडक खण्डमा तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका छोरा ४ वर्षिय जेसन महतो घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पार्ने बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully