हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको माथिल्लो भेगमा पुगेका उम्मेदवारहरू ध्यान, जप, पूजापाठ र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै घरदैलो गर्दै मत मागिरहेका छन् ।
What you should know
सिन्धुपाल्चोक — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूले परम्परागत नारा र भाषणभन्दा फरक शैली अपनाउँदै मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
जिल्लाको प्रमुख पर्यटकीय तथा बौद्ध धार्मिक क्षेत्र हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको माथिल्लो भेगमा उम्मेदवारहरू ध्यान, जप, पूजापाठ र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै घरदैलो गर्दै मत मागिरहेका छन् ।
मनमोहक सेमिसिदाङ हिमालको काखमा फैलिएको हेलम्बु क्षेत्रमा सयाैं वर्ष पुराना गुम्बा, गुफा र महत्वपूर्ण बौद्ध तीर्थस्थल छन् । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुसार २०७२ सालको भूकम्पमा जिल्लाका २५२ गुम्बामध्ये २०५ वटा क्षतिग्रस्त भएका थिए । तीमध्ये भारतको सहयोगमा सात वटा गुम्बा पुनर्निर्माण भएका छन् भने केही स्थानीयले ऋण र चन्दा संकलन गरेर पुनर्निर्माण गरिरहेका छन् ।
यहाँका धार्मिक कार्यक्रममा सहभागी हुँदै उम्मेदवारहरूले स्थानीय संस्कृति र आस्थालाई चुनावी अभियानसँग जोडिरहेका छन् ।
कांग्रेस उम्मेदवार वंशलाल तामाङले दुई दिनअघि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पासँगै हेलम्बुको जेचुनस्थित प्राचीन गुफामा लामो समय ध्यान र साधना गर्दै आशीर्वाद मागेका थिए । काठमाडौंबाट करिब ६५ किलोमिटर दूरीमा रहेको जेचुन मिलारेपा क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ ।
बौद्ध मान्यताअनुसार विसं ११०० तिर गुरु मार्पाको आज्ञामा मिलारेपा तिब्बतको क्याङफेनबाट हेलम्बु आएर तीन वर्ष साधना गरेका थिए । ‘मिलारेपा न्याय दिने देवताका रूपमा प्रसिद्ध छन्, त्यसैले यहाँ मतदाता भेट्दै गुफामा ध्यानमा डुबेको हुँ,’ तामाङले भने ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालले पनि मतदाता भेटघाटका बेला बौद्ध तीर्थस्थल र विभिन्न पूजामा सहभागी हुँदै नाचगान गरेका छन् । गुम्बामा लामागुरुहरूबाट आशीर्वाद लिएका उनी ह्योल्मो होमस्टेमा बसेर ध्यान साधना र प्रार्थनामा संलग्न भए । ‘लोककल्याण र आशीर्वादका लागि यहाँका महान् तीर्थस्थलमा आशिष लिएको हुँ,’ उनले भने ।
यस्तै एमाले उम्मेदवार तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पनि गुम्बा र धार्मिक स्थलमा पुगेर आशीर्वाद लिँदै स्थानीयसँग मत मागिरहेका छन् । तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवार सिन्धुपाल्चोकमा परिचित अनुहार मानिन्छन् ।
पर्यटन र पुनर्निर्माण मुख्य एजेन्डा
२०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पनले प्राचीन ह्योल्मो सभ्यता र धार्मिक महत्व बोकेको हेलम्बु क्षेत्रका पदमार्ग र संरचनामा ठूलो क्षति पुर्याएको थियो । करिब दुई दर्जन पदमार्ग ध्वस्त हुँदा यहाँको पर्यटन लामो समयसम्म प्रभावित बन्यो ।
भूकम्पअघि तार्केघ्याङ, गुरु रेन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला, मिलारेपा र चिरी गुम्बाजस्ता तीर्थस्थलमा वार्षिक करिब ३६ हजार पर्यटक पुग्ने गरेका थिए ।
भूकम्प गएको झण्डै एक दशक बितिसक्दा पनि ७५ प्रतिशत गुम्बा अझै त्रिपाल र टेकोकै भरमा छन् । मेलम्ची बाढीपछि पदमार्ग थप ध्वस्त बनेका छन् भने पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । बगर बनेका घरखेत, नदी किनारका ढलेका संरचना र तटीय क्षेत्रका भग्नावशेष अझै स्थानीयको पीडाका रूपमा छन् ।भेमाथाङ पहिरोको जोखिमका कारण विस्थापित परिवार पुनः बाढीको त्रासमा बाँचिरहेका छन् ।
यसपाली हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासलाई उम्मेदवारहरूले मुख्य एजेन्डा बनाएका छन् । प्राचीन गुम्बा पुनर्निर्माण, सहज सडक पहुँच, पर्यटकीय पूर्वाधार र पदमार्ग पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ ।
यसअघि आमा ह्योल्मो (आमायाङ्ग्री), पाँचपोखरी, डुग रेन्जेन ड्रागन गुफा र विशाल ढुंगाका मनोरम दृश्य अवलोकन गर्दै पर्यटक पदमार्गमार्फत ह्योल्मो होमस्टेमा बस्ने गर्थे । अहिले चुनावी चहलपहलसँगै यी धार्मिक तथा पर्यटकीय क्षेत्र पुनः चर्चामा आएका छन् ।
