घरमा खाना पकाउन प्रयोग हुने ग्यास, मट्टितेलजन्य प्रज्वलनशील वस्तुबाट हुन सक्ने आगलागी एवम् त्यसबाट सुरक्षित रहने उपायहरुबारे विभिन्न प्रस्तुतिमार्फत अभिभावक र विद्यार्थीलाई जानकारी गराइएको हो ।
काठमाडौँ — नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले घरेलु प्रकृतिको आगलागी नियन्त्रणसम्बन्धी जानकारी प्रदान गरेको छ ।
स्कुलको सातौं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा घरमा खाना पकाउन प्रयोग हुने ग्यास, मट्टितेलजन्य प्रज्वलनशील वस्तुबाट हुन सक्ने आगलागी एवम् त्यसबाट सुरक्षित रहने उपायहरुबारे विभिन्न प्रस्तुतिमार्फत अभिभावक र विद्यार्थीलाई जानकारी गराइएको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मका प्रशिक्षकहरुबाट ग्यास सिलिण्डरबाट र खाना पकाउन प्रयोग हुने तेल, मट्टितेलबाट के कसरी आगो सल्कन सक्छ र त्यसबाट कसरी सुरक्षित हुने, आफ्नै प्रयासबाट आगलागी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । घर, कार्यालयहरुमा राखिने फायर एक्सिङग्युसर प्रयोगको सुरक्षित तरिका, फायरबल प्रयोगलगायत सचेतनामूलक जानकारीसमेत दिइएको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी, प्रहरी कर्मचारी, अभिभावकका साथै विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रहरीले आफ्नो व्यवस्थापनमा देशभर ९ वटा विद्यालय संचालन गरिरहेको छ । प्रहरी स्कुल शान्तिपुर चितवन भने २०७५ सालदेखि संचालनमा आएको हो ।
गत वर्षको एसईईमा उत्कृष्ट नतिजा दिन सफल उक्त स्कुलमा हाल कक्षा १ देखी १० सम्म गरी ५७० जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन् ।
