फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा १६७ वटा मतदानस्थल छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १९ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।
What you should know
हेटौंडा — मकवानपुरमा रहेका अति संवेदनशील, र सवेदनशील मतदानस्थलमा जिल्ला सुरक्षा समितिले स्थलगत निरीक्षण थालेको छ ।
स्थलगत निरीक्षणको क्रममा स्थानीय र पालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने काम पनि भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान प्रमुख र प्रदेश निर्वाचन कार्यालयका प्रमुख स्थलगत निरीक्षणको क्रममा जिल्लाका विभिन्न भागमा पुग्ने गरेका छन् । निरीक्षणको क्रममा निर्वाचनको समयमा आउन सक्ने चुनौती, मतपेटिका, मतपत्र ढुवानीका लागि भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थाको बारेमा स्थानीयसँग छलफल गरेका थिए ।
भीमफेदी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिकाको विकट क्षेत्रमा रहेका संवेदनशील र अति संवेदनशील मतदानस्थलको निरीक्षण तथा चुनावमा ढुक्क भएर सहभागी हुन स्थानीयसँग छलफल र निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । अरु पालिकाका विकट क्षेत्रका मतदानस्थलमा १/२ दिनभित्रमै अनुगमन गरिने प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा १६७ वटा मतदानस्थल छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १९ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० मध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।
जिल्लाभर रहेका मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६०संवेदनशील र ८८ सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । यसैगरी राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । हेटौंडा उपमहानगरपालिकाका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदानस्थल र १७ मतदान केन्द्र संवेदनशील सूचीमा रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका ४ मतदानस्थल र ७ मतदान केन्द्र, ईन्द्रसरोवर गाउँपालिकाका २ मतदानस्थल र २ मतदान केन्द्र, भीमफेदी गाउापालिकाका ४ मतदानस्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदानस्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा छन् ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।
