एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमको आर्थिक सहयोगमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
What you should know
रामेछाप — प्रेस चौतारी नेपाल रामेछापले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीमा शनिबार आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उक्त पुरस्कारको औपचारिक घोषणा गरिएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले पुरस्कारको घोषणा गर्दै यसको उद्देश्य र महत्वबारे जानकारी गराए ।
उनका अनुसार एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमको आर्थिक सहयोगमा उक्त पुरस्कार स्थापना गरिएको हो । गौतमले वार्षिक एक लाख रुपैयाँका दरले पाँच वर्षसम्म गरी कुल पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारले पत्रकारिताको गरिमा अभिवृद्धि गर्नुका साथै नयाँ पुस्ताका पत्रकारलाई पेसागत रूपमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले पुष्पलालको विचार, योगदान र सङ्घर्षलाई स्मरण गर्दै समाज रूपान्तरणमा पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउनेमा यो पुरस्कार महत्त्वपूर्ण हुने बताए ।
प्रेस चौतारी रामेछापका अध्यक्ष लेखबहादुर विकका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा हरेक वर्ष साउन ७ गते नगद २० हजार रुपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिनेछ । लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको पक्षमा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको अध्यक्ष विकले बताए।
श्रेष्ठको जन्म विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । उनको स्मृति दिवसमा प्रेस चौतारीले प्रत्येक वर्ष यो राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।
