चितवन निकुञ्जभित्रको सडकमा ‘मोज्याक’ टायल बिछ्याउन थालियो

वन तथा वातावरण मन्त्रालयले अस्थायी रुपमा मोज्याक टायल बिछ्याउन सहमति दिएपछि यो काम अघि बढेको हो ।

माघ २२, २०८२

राजु चौधरी

Mosaic tiles begin to be laid on roads inside Chitwan National Park

What you should know

चितवन — चितवनको दक्षिण भेग माडी नगरपालिका प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक खण्डमा 'मोज्याक' टायल बिछ्याउन सुरु गरिएको छ ।

सडकलाई धुलोरहित बनाउन माडी नगरपालिकाले अस्थायी रुपमा पहिलो चरणमा वनकट्टा चेकपोष्टदेखि ध्रुव पोष्टसम्मको सडकखण्डको ४० मिटर क्षेत्रमा मोज्याक टायल बिछ्याउन सुरु गरेको हो । 

उपभोक्ता समिति मार्फत १० लाख रुपैयाँ बजेटमा मोज्याक टायल बिछ्याउने काम सुरु गरिएको माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महतोले जानकारी दिइन् । ‘अहिले परीक्षणको क्रममा ४० मिटर सडक खण्डमा मोज्याक टायल बिछ्याउँछौं, सफल भएको खण्डमा यसै आर्थिक वर्षमा थप बजेट निकासा गरी थप काम गर्छाैं,' नगरप्रमुख महतोले भनिन् । 

वन तथा वातावरण मन्त्रालयले अस्थायी रुपमा मोज्याक टायल बिछ्याउन सहमति दिएपछि यो काम अघि बढेको हो । पछि थप काम अघि बढाउन पुनः वन मन्त्रालयसँग अनुमति लिनुपर्ने हुन्छ । ‘अहिले वन मन्त्रालयबाट अस्थायी रुपमा अनुमति पाएका छौं, पुनः थप काम अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार पारेपछि मोज्याक टायल बिछ्याउने काम अघि बढ्छ,’ नगरप्रमुख महतोले भनिन्। 

नगरपालिकाले पहिलो चरणको मोज्याक टायल बिछ्याउने काम सफल भए थप ३ सय मिटर सडकमा यो काम अघि बढाउने तयारी छ । त्यसका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिरहेको छ।

निकुञ्जभित्रको बाटोलाई धुलोरहित बनाउन नगरपालिकाले विकल्पको रुपमा मोज्याक टायल बिछ्याउने कामलाई अघि बढाउन लागेको हो । 

हरेक निर्वाचनको बेलामा निकुञ्जभित्रको सडक खण्ड कालोपत्र गर्ने विषय चुनावी एजेन्डा बन्ने गरेको छ । निकुञ्जभित्र ग्राभेल सडक भएकाले हिँडडुलमा समस्या हुने गरेको भन्दै माडीबासीले लामोसमयदेखि कालेपत्र गर्न माग गर्दै आइरहेका छन् । तर विश्वसम्पदा सूचीमा सुचिकृत यो निकुञ्जमा कालोपत्रको काम हुन सकेको छैन । 

गत भदौमा भएको जेनजी आन्दोलनको बेला माडीका युवाहरु निकुञ्जभित्रको सडक विस्तारमा खटिएका थिए । माडीका कुनै पनि सरकारी कार्यालयमा तोडफोड नगरी युवाहरु आन्दोलन स्वरुप निकुञ्जको बाटो बनाउन लागि परेका थिए । त्यहीबेला युवाहरुको दबाबमा नगरपालिकाले एकैदिनमा कार्यपालिका बैठक र नगरसभा गरेर माडीको सडक धुलोरहित बनाउने भन्दै ५ करोड बजेट विनियोजन गरेको थियो । 

त्यसै अनुरुप नगरपालिकाले अहिले विभिन्न ठाउँको अध्ययनपछि 'मोज्याक' टायल बिछयाउने कामलाई अघि बढाएको हो । युवा अभियन्ता भरत ढकालले परीक्षणको रुपमा सुरु गरिएको यो काम सफल भए निकुञ्जभित्रको सबै सडक खण्डमा काम अघि बढाउन दवाब दिने बताए । ‘हामीले जेनजी बिद्रोहकै बेला निकुञ्जभित्रको सडक बनाउन ५ करोड बजेट विनियोजन गर्न लगाएका थियौं, मुख्य सडक खण्डमा मोज्याक टायल बिछ्याउने काम नयाँ भएकाले परीक्षणका लागि अहिले थोरै ठाउँमा काम सुरुवात गरिएको हो, सफल भए सबै विनियोजित बजेटबाट काम अघि बढाउन दवाब दिन्छौं,’ ढकालले भने । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully