सिन्धुपाल्चोकका उम्मेदवार घरदैलोमा व्यस्त

संघीय राजधानीबाट नजिक भए पनि जिल्लामा अझै आधारभूत पूर्वाधार अभाव रहेकाले ती समस्या समाधानलाई प्रमुख मुद्दाका रूपमा अघि सारिएको धेरै उम्मेदवारहरूको भनाइ ।

माघ २०, २०८२

अनिश तिवारी

Sindhupalchowk candidates busy door-to-door

What you should know

सिन्धुपाल्चोक — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर जिल्लास्थित विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । अधिकांश उम्मेदवारले विकास निर्माणलाई मुख्य एजेन्डा बनाएर गाउँदेखि बजारका मतदातासँग संवाद बढाएका छन् ।

सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र रोजगारीलाई उम्मेदवारले प्राथमिकता दिएका छन् । दुई प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा कांग्रेस, एमाले, नेकपा, रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र गरी दुवै क्षेत्रमा ३६ उम्मेदवार छन् । दोहोर्‍याएर उम्मेदवार बनेकादेखि पहिलोपटक चुनावमा उत्रिएकाहरूले विकास निर्माणलाई जोड दिएका छन् । 

सिन्धुपाल्चोक–१ मा नेकपाका माधव सापकोटा, एमालेबाट सरेश नेपाल, कांग्रेसका जंगबहादुर लामा, रास्वपाका भरतप्रसाद पराजुली प्रतिस्पर्धामा छन् । नेकपाका सापकोटाले तातोपानी नाकाको मितेरी पुल, लार्चा, तातोपानी, कोदारी र लिपिसम्म भोट माग्न पुगिसकेको बताए । एमालेका नेपाल पनि घरदैलोमा व्यस्त छन् । गत शुक्रबार ४२ औं पिस्कर सहिद स्मृति दिवसमा आयोजित ‘पिस्कर ऐतिहासिक जन विद्रोह पुस्तक’ लोकार्पण कार्यक्रम आयोजना गरेर मत माग्न भ्याए । कांग्रेसका लामाले जुगल गाउँपालिका क्षेत्रबाट घरदैलो अभियान थालेका छन् । रास्वपाका पराजुलीले बाह्रबिसे, खाडीचौर पुगेर घरदैलो गरेको जनाए । 

सिन्धुपाल्चोक–२ का उम्मेदवार चिसो छिचोल्दै छेच्यु पूजामा सहभागी भएर आशीर्वाद लिएपछि भोट माग्न व्यस्त छन् । उक्त क्षेत्रमा कांग्रेसका वंशलाल तामा, नेकपाका युवराज दुलाल र एमालेका शेरबहादुर तामाङले परम्परागत श्याब्रु नाचमा स्थानीयसँगै नाचेर भोट मागे । 

संघीय राजधानीबाट नजिक भए पनि जिल्लामा अझै आधारभूत पूर्वाधार अभाव रहेकाले ती समस्या समाधानलाई प्रमुख मुद्दाका रूपमा अघि सारिएको धेरै उम्मेदवारहरूको भनाइ छ । 

ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजनाको विस्तार, सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता पुराना उम्मेदवारले दोहोर्‍याएका छन् । नयाँ तथा वैकल्पिक पार्टीका उम्मेदवारले भने नयाँ सोच र साझा उद्देश्यसहित आफूहरू अघि बढेको बताए । घरदैलो कार्यक्रममार्फत मतदातासँग संवाद गरेर स्थानीयका समस्या बुझ्ने र समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने तयारी भइरहेको उनीहरूको भनाइ छ ।

गाउँस्तरमा भेला, अन्तरक्रिया र छलफलमार्फत सुझाव संकलन गर्दै स्थानीय आवश्यकता अनुसार विकासका प्राथमिकता तय गर्ने रणनीति अपनाइएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा पुराना र नयाँ दलका उम्मेदवारको गतिविधि तीव्र बन्दै गएको छ । शान्तिपूर्ण, मर्यादित र आफ्ना एजेन्डामार्फत जनताको विश्वास जित्ने लक्ष्यसहित घरदैलो अभियानलाई प्रभावकारी बनाउने तयारीमा उम्मेदवारहरू देखिएका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully