हेलम्बुमा छेच्यु पूजा

हेलम्बुको तार्तुङ र सेर्माथाङ गाउँस्थित गुम्बाहरूमा आयोजना गरिएको पूजामा बाछ्याम (धार्मिक तान्त्रिक नृत्य) र श्याब्रु नाच विशेष आकर्षण बनेका छन् ।

माघ २०, २०८२

अनिश तिवारी

Chhechyu Puja in Helambu

What you should know

सिन्धुपाल्चोक — हृयोल्मो भूमि हेलम्बुमा प्राचीन बौद्ध परम्पराअनुसार मनाइने छेच्यु पूजाले यतिबेला रौनक छाएको छ ।

हेलम्बुको तार्तुङ र सेर्माथाङ गाउँस्थित गुम्बाहरूमा आयोजना गरिएको पूजामा बाछ्याम (धार्मिक तान्त्रिक नृत्य) र श्याब्रु नाच विशेष आकर्षण बनेका छन् ।

स्थानीय महिला–पुरुषहरु परम्परागत भेषभूषामा सजिएर हात समाउँदै गोलाकार घेरामा श्याब्रु नाचमा झुम्दा वातावरण उत्सवमय बनेको थियो । लामा गुरुको उपस्थितिमा पवित्र वाद्यवादनको तालसँगै नृत्य प्रस्तुत गरिएको थियो । 

हृयोल्मो बौद्ध परम्पराअनुसार लामा गुरुले देवी–देवताका मुकुण्डो लगाएर बाछ्याम नृत्य प्रस्तुत गरेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार गाउँपालिकाभरि विभिन्न गुम्बामा भइरहेको यस पूजाको उद्देश्य विश्व शान्ति, मानव कल्याण तथा सामाजिक सद्भाव कायम गर्नु हो । ‘बिहीबारदेखि सुरु भएको छेच्यु पूजा सात दिनसम्म चल्ने परम्परा छ । पूजाको अन्तिम दिन सोमबार लामा गुरुले छेवाङ (अभिषेक) प्रदान गर्दै आध्यात्मिक अमृत जल वितरण गर्ने परम्परा रहेको छ,’ शेर्पाले भने ।  

यस अवसरमा वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । आइतबार हेलम्बुको सेर्माथाङमा ताहोङसा समुदायद्वारा केशरे साङग फिन्छोग उर्गेन छ्योलिङ गुम्बामा छेच्यु पूजा गरिएको थियो ।

छेच्यु पर्वलाई केवल नयाँ वर्षको खुसीयालीसँग सीमित नराखी रोगव्याधि निर्मूल पार्ने, नकारात्मक शक्तिलाई परास्त गर्ने र समाजमा सकारात्मक ऊर्जा फैलाउने प्रतीकका रुपमा लिइने हृयोल्मो सांस्कृतिक अनुसन्धान दाता टाँसी दोङ्बा हृयोल्मोले जानकारी दिए । ‘बौद्ध धर्मको बज्रयान सम्प्रदायका प्रवर्तक गुरु पद्मसम्भव (रिम्पोछे) ले ध्यान र साधना गरेको मानिने हेलम्बु क्षेत्रमा भविष्यका लागि गुप्त निधि लुकाएर राखिएको जनविश्वास पनि छ,’ हृयोल्मोले भने । 

गुरु पद्य संम्भवको जन्मजयन्तीको पुण्य तिथिमा मनाइने छेच्यु पर्वले जातीय तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनले बताए । 

चिसो छिचोल्दै छेच्यु पूजामा सहभागी हुँदै आर्शिवाद लिएर मत माग्न प्रतिनिधिसभा २ क्षेत्रको हेलम्बु भेगमा उम्मेदवार पनि पुगेका छन् । उम्मेदवारहरु कांग्रेसका वंशलाल तामाङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल र एमालेका पूर्वमन्त्री शेरबहादुर तामाङले नाच्दै मत माग्न भ्याए ।

मुख्य प्रतिस्पर्धी यी तीन जना नै जिल्लामा चर्चित अनुहार हुन् । पर्व मनाउन सहर तथा बाहिर बसोबास गर्ने स्थानीय समेत गाउँ फर्किएका छन् । परिवार, आफन्त र इष्टमित्रबीचको भेटघाट, सामूहिक खानपिन र नाचगानले हेलम्बुको वातावरण यतिबेला उल्लासपूर्ण बनेको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully