चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका लोपोन्मुख सामग्रीहरु अवलोकनका लागि राख्न पालिकाले ३ करोड ६३ लाख खर्च गरेर संग्राहालय निर्माण गरेको हो ।
What you should know
हेटौंडा — चेपाङ समुदायको पहिचान र संस्कृतिसँग जोडिएका वस्तु अवलोकन र संरक्षणका लागि निर्माण गरिएको संग्राहालय आर्थिक अभावले संचालनमा आउन सकेको छैन ।
भवन निर्माण कार्य सम्पन्न भए पनि र्याकलगायत सजावट बनाउन बजेट अभाव हुँदा संग्रहालय संचालनमा आउन नसकेको हो । राक्सिराङ गाउँपालिकाको लगानीमा निर्माण गरेको संग्रहालय भवन भित्र खाली छ । संग्रहालयमा राख्ने सामान पनि पालिकाको पुरानो भवनमा थुपारिएको छ।
‘संग्रहालय व्यवस्थित र आकर्षक ढंगले संचालन गर्नका लागि भवनको भित्री भागमा डेकोरेसन र र्याक बनाउन झण्डै एक करोड रुपैयाँ जति लाग्ने अनुमान गरिएको छ, पालिकासँग बजेट नभएर प्रदेश सरकारसँग माग गरेका छौं,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने,‘मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको पनि क्षेत्र यही भएकाले उहाँले विनियोजन गरिदिने आश्वासन दिनुभएको छ ।’
चेपाङ बाहुल्य रहेको यो पालिकाले समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका लोपोन्मुख सामग्रीहरु अवलोकनका लागि राख्न संग्राहालय निर्माण गरेको हो । उनीहरुले विगतमा प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा पुगेका सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले पालिकाले ठूलै लगानीमा संग्राहालय निर्माण गरेको अध्यक्ष मल्लले बताए ।
राक्सिराङ गाउँपालिका—५ चैनपुरमा ३ करोड ६३ लाखको लागतमा संग्रहालय भवन निर्माण गरिएको हो । तीन तले उक्त भवनको तल्लो तलामा चेपाङ समुदायले विगतदेखि वर्तमानसम्म प्रयोग गर्दै आइरहेका र उनीहरुको संस्कृति र पहिचान झल्कने सामग्रीहरु राखिने गाउँपालिकाको योजना छ । भवनको भित्री भागमा डेकोरेसन र र्याक बनाउने कार्य सकेपछि कार्यविधि बनाएर संग्रहालय संचालनमा ल्याउने अध्यक्ष मल्लले बताए।
विगतदेखि चेपाङ संग्रहालयको संचालन र संरक्षण गर्दै आएर अहिले गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका चेपाङ समुदायका महिलाहरु देउमाया र विन्दुमाया पनि संग्रहालय छिटो संचालन हुनुपर्ने बताउँछन् ।
विगतमा उनीहरुले चेपाङ संग्रहालयको संचालन र संरक्षण गर्दै आएका थिए । ‘पालिकाले पुरानो भवन भत्काएर संग्रहालयको नयाँ भवन बनाउन सुरु गरेपछि उनीहरु गाउँपालिका कार्यालयमा जोडिएका हुन्,’ अध्यक्ष मल्लले भने,‘संग्रहालय संचालनमा आएपछि उनीहरुलाई त्यही खटाइन्छ ।’
राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय संचालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिसहरु आउने गर्थे ।
२०७२ को भूकम्पले संग्रहालय भवनमा क्षति पुर्याएको थियो । उक्त भवनको मर्मत कार्य हेटौंडाका दिलीप बानियाँको आर्थिक सहयोगमा रोटरी क्लब अफ मकवानपुरले गरेको थियो । भवन जीर्ण हुँदै गएको र ठाउँको अभावले व्यवस्थितसँग संग्रहालय संचालन हुन नसकेकाले गाउँपालिकाले व्यवस्थितसँग सग्रहालय संचालन गर्न २०७८ साउनदेखि नयाँ भवनको निर्माण कार्य सुरु गरेको थियो ।
तत्कालीन जिल्ला विकास समितिको सहयोगमा उक्त स्थानमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो । उक्त संग्रहालयमा चेपाङ समुदायले प्रयोग गर्ने एक पाखे ढ्याङग्रो, चमेरो मारेर हाल्ने थुन्से, चमेरो मार्ने गुलेली, खोरिया खन्दा प्रयोग गर्ने कुटो कोदालो, हलो, वन्यजन्त्कुो सिकार खेल्दा प्रयोग गर्ने हतियार, चिउरीको घिउ राख्ने भाडोलगायत उनीहरुको जीवनशैली र पहिचानसँग जोडिएका सामग्रीहरु राखिएका थिए । ‘पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि संग्राहालयमा राखिएका सामग्रीहरु कोठामा सुरक्षित साथ राखेका छौं,’ अध्यक्ष मल्लले भने ।
मनहरी बजारबाट डेढ घन्टा हिँडेर चैनपुर पुग्न सकिन्छ । अहिले मनहरीबाट उक्त स्थानसम्म सवारीसाधन आउजाउ गर्छन् । चेपाङ संग्रहालय आफ्नो समुदायको अस्तित्व र पहिचानसँग जोडिएकाले पालिकाले व्यवस्थित ढंगले संचालन गर्ने विश्वास लिएको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए ।
चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ र कैलाश गाउँपालिकाको मध्यभागमा चेपाङ रहेको यो चेपाङ समुदायको पहिलो संग्रहालय हो ।
२०७८ को जनगणना अनुसार मुलुकमा ८४ हजार ३ सय ६४ चेपाङ समुदायको जनसंख्या रहेको छ । मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जनसंख्या रहेको छ । चेपाङहरुको बसोबास अहिले २६ वटा जिल्लामा छ ।
