पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपालका साथै डेरी उद्योगका विभिन्न औजार, उपकरणहरु उत्पादन गर्दै आएका भारतका कम्पनीहरुले पनि स्टल राख्ने छन् ।
What you should know
काठमाडौँ — चितवन–उपयुक्त स्याहार पाएका राम्रा गाइहरु कस्ता हुन्छन् ? दुधालु पशु हेरचाहका लागि आवश्यक आहार र औजारहरु के हुन् ? उत्पादन भएको दूधबाट के के बनाउन सकिन्छ ? त्यसका लागि के कस्ता औजार, उपकरण र प्रविधिहरु आवश्यक पर्दछ ? भरतपुरमा हुने पहिलो अन्तर्राष्ट्रिय डेरी एक्स्पो (प्रदर्शनी)मा पुग्नेले यी जिज्ञांसाहरुको उत्तर पाउने छन् । माघ २५ गतेदेखि एक्स्पो सुरु हुँदैछ ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपालका साथै डेरी उद्योगका विभिन्न औजार, उपकरणहरु उत्पादन गर्दै आएका भारतका कम्पनीहरुले पनि स्टल राख्ने छन् । बंगलादेशका कम्पनीहरुले पनि स्टल राख्ने योजना बनाइरहेको आयोजक मध्येको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए । सहकारी र चितवन उद्योग संघले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् ।
एक्स्पोको चौथो दिन माघ २८ गते बुधबार दुग्ध क्षेत्रसँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातको गाई प्रदर्शनी, उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम रहेको छ । प्रदर्शनी स्थलमा राम्रा गाईहरु ल्याएर राख्ने योजना आयोजकको छ । यी गाई कसरी राम्रा भए भन्ने जिज्ञासा दर्शकहरुले पक्कै राख्ने छन् । अनि गाई कसरी राम्रो बनाउने भन्ने उपाए बताउने आयोजकको उद्देश्य हो ।
‘राम्रा गाई प्रदर्शनीमा राखेपछि यीनलाई हेर्न आउनेहरुले गाई रोज्ने बेलामा के कुरा ध्यान दिनु पर्ने रहेछ, थुन, पुच्छर, जिउ डाल कस्तो हुनु पर्दछ भन्ने थाहा पाउने छन्’ पशुका चिकित्सक तथा प्रदर्शनीको सहयोगी संस्था हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक डा.लेखनाथ अधिकारीले भने । गाईको दाँतका आधारमा उमेर थाहा हुन्छ । यस्ता स–साना तर आवश्यक कुरा किसानले थाहा पाउने छन् ।
दूध संकलन गरेर विभिन्न उत्पादन गर्दै आएका दुग्ध उत्पादक सहकारीहरुका स्टलहरु पनि रहने छन् । ‘यसले दुग्ध सहकारीहरुलाई दूधका विभिन्न परिकारहरुको उत्पादनमा लाग्न प्रेरित गर्ने छ । कुन मात्रामा उत्पादन गर्दा के कस्तो औजार उपकरणहरु आवश्यक पर्ने हुन् त्यसको ज्ञान दिने छ,’ जिल्ला सहकारीका अध्यक्ष बगालेले भने । किसानदेखि उद्योगीसम्म प्रदर्शनीबाट लाभान्वित हुने उनले बताए ।
‘थोरै गाई वस्तु पाल्ने हुन् या ठूला फार्महरु हुन् सबैले लाभ लिन सक्ने छन् । घरकै लागि गाई भैंसी पाल्दा पनि कसरी राम्रो स्याहार गरेर गुणस्तरीय दूध उत्पादन गर्न सकिन्छ भन्नेहरुले यो प्रदर्शनीबाट उपाए सिक्न पाउने छन्’ बगालेले भने । त्यसैगरी साना ठूला डेरी उद्योगीहरुलाई आवश्यक पर्ने सामग्री र जानकारीहरु पनि प्रदर्शनीमा उपलब्ध हुने उनले बताए ।
‘दूध उत्पादन र दुग्ध उद्योगको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु आइ रहन्छन् । भारतमै पनि यस्ता प्रदर्शनीहरु ठाउँ ठाउँमा भइरहन्छन् । डेरी सम्बन्धित यस्तो प्रदर्शनी नेपालमा थिएन । हामी नेपालमै यस्तो प्रदर्शनी सुरु गर्न लागेका हौं,’ बगालेले भने । डेरी उत्पादन र उद्योगको क्षेत्रमा आउने प्रविधि र उपकरणहरुबारे जानकार हुन विदेशका प्रदर्शनीहरुमै जानुपर्ने बाध्यता अन्त्य गर्न खोजेको उनले बताए ।
प्रदर्शनीमा सयभन्दा बढी स्टलहरु रहने छन् । डेरीसँग सम्बद्ध सरकारी निकायहरु पशुसेवा विभाग, दुग्ध विकास बोर्ड जस्ता निकाय, बीमा र वित्तीय संस्थाका स्टल पनि प्रदर्शनीमा रहने छन् । सरकारी नीतिदेखि वित्तीय व्यवस्थापनका विषयमा पनि जानकारी लिन पाउने अवसर जुटेको बगालेले बताए । प्रदर्शनीमा भाग लिन र अवलोकन गर्न देशभरकै किसान र डेरी उद्योगीलाई नियन्त्रणा गरेको उनले बताए ।
‘किसानका साथै दुग्ध सहकारी र उद्योगी, प्राविधिक, पशु स्वास्थ्य क्षेत्रमा कृयाशिल चिकित्सक, विद्यार्थी र अन्य सर्वसाधरणका लागि पनि यो प्रदर्शनी उपयोगी छ,’ बगालेले भने । प्रदर्शनीमा पाँच दिनमा करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरेको उनले बताए । प्रवेश निःशुल्क छ ।
अघिल्लो वर्ष राष्ट्रिय स्तरको प्रदर्शनी भएको थियो । यो पटक अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि प्रदर्शशकहरु आउँदैछन् । दूध उत्पादनका क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरु आइरहने भएका कारण कृषकदेखि उद्योगीहरुसम्म यस बारेमा जानकार भइ सुधार गर्दै लैजानुपर्ने हुन्छ । त्यसैले आउँदा वर्षहरुमा पनि यस्तो प्रदर्शनी गर्दै जाने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेडका अध्यक्ष किशोर बगाले बताउँछन् ।
