धादिङ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवमा छुट्टै स्टल राखेर बूढीगण्डकी आयोजनाको काम अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान थालिएको हो ।
What you should know
धादिङ — राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन दबाव दिने उद्देश्यले धादिङमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको धादिङ महोत्सवमा छुट्टै स्टल राखेर उद्योग बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन दबाब स्वरुप हस्ताक्षर अभियान थालेको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका थिए। अध्यक्ष ढकालले सरकारलाई तत्काल आयोजना निर्माणको अघि बढाउन आग्रह समेत गरे । निजीक्षेत्र आयोजना अघि बढाउने कुरामा सहकार्य गर्न समेत तयार रहेको जानकारी सरकारलाई दिएको पनि उनले बताए।
३ खर्ब ३१ अर्ब अनुमानित लागतमा १२ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य साथ सम्भाव्यता अध्ययन गरिएको बूढीगण्डकी जलविद्युत कम्पनीको मुआब्जालगायत महत्वपूर्ण काम सकिए पनि निर्माणको चरणमा अघि बढेको छैन ।
आयोजना निर्माण मोडालिटीको सन्दर्भमा समय–समयमा फरक–फरक सोच अगाडि सार्दै हाल कम्पनी ऐन, २०६३ अन्तर्गत निर्माण गर्ने सोच बनाइएको यो आयोजनाको लागि प्रभावित क्षेत्रमा ४५ अर्ब भन्दा धेरै रकम खर्च गरेर मुआव्जा वितरण गरिसकेको छ भने ठूलो लगानीमा तत्काल निर्माणको काम अघि बढाउने भन्दै तामझाम गरेर साइड अफिस पनि खोलिएको थियो । साईड कार्यालय उद्घाटन गर्न पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल काम बढाउन सरकार अघि बढेको बताए पनि काम अहिलेसम्म अघि बढेको छैन ।
बूढीगण्डकी आयोजना नेपालको सबैभन्दा ठूलो जलाशययुक्त बहुउद्देश्यीय आयोजना हो । धादिङ र गोरखाको मात्र नभएर सिंगो नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने, रोजागारीदेखि सवै खालको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने भएकोले तत्काल यसको निर्माण बढाउनु पर्ने आवश्यक देखिएकाले हस्ताक्षर अभियान थालिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए।
उनले गोरखा र धादिङको उत्तरी भेगको व्यापारिक मुख्य नाका लामो समयदेखि उठीबास भए पनि आयोजना बन्ने आम मानिसको सपनाले मूर्तरुप पाउन नसकेकोमा दुख व्यक्त गरे। आयोजनाको ढिलाइमा सिर्जित समस्या समाधान गरी आयोजना तत्काल कार्यान्वयनका सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दबाब स्वरुप महोत्सवमा हस्ताक्षर अभियान सुरु गरिएको उनले बताए।
बिहीबारदेखि सुरु भएको हस्ताक्षर अभियानमा मेला अवलोकन गर्न आएका दर्शकदेखि स्थानीय तहका जनप्रतिनिधिसहित १ हजार भन्दा धेरैले हस्ताक्षर गरिसकेको धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताए।
धादिङ र गोरखाका जिल्लाका साविकका २३ गाविसका ५० हजार बासिन्दा थातथलो छोड्न सहमत भइसके पनि सरकारले निर्माणको काम अघि नबढाउँदा अन्य विकासबाट पनि बञ्चित बनेका छन् ।
गौरवको आयोजना भनेर थातथलो छोड्न तयार हुादा समेत सरकारले बीचमा ल्याएर अलपत्र पारेको भन्दै उनीहरु निराश छन् । आयोजना अघि बढाउन संघ सरकारले नजर अन्दाज गरेको भन्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले आक्रोश व्यक्त गरे।
यस्ता ठूला आयोजना निर्माणमा सरकारले बिलम्ब गर्नु नहुने त्रिपुरा गाउापालिकाका अध्यक्ष राजु उप्रेती बताउँछन् । हस्ताक्षर अभयानमा सहभागी भएका प्रभावित क्षेत्रका बासिन्दा भने बूढीगण्डकी सधैं राजनीति गर्नेहरुको भोटको एजेण्डा मात्र बनेको भन्दै उद्योग वाणिज्य संघले थालेको यो अभियानले मूर्तरुप लिनेमा विश्वस्त छन् । त्रिपुरासुन्दरी गाउँपालिका खहरेका यदुनाथ साप्कोटाले आयोजनाको नाममा विकासमा पछि परेको भन्दै तत्काल निर्माण अघि बढाउने या नियमित विकास गरिदिन सरकारसित आग्रह गरे।
हस्ताक्षर अभियान महोत्सव अवधिभर माघ २५ गतेसम्म चल्ने छ । लगत्तै हस्ताक्षर नेपाल सरकारलाई हस्तान्तरण गरिने धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले बताए ।
