हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा नेपथ्यको तेस्रो कन्सर्ट हुन लागेको हो।
हेटौंडा — लोकप्रिय लोक–रक ब्यान्ड ‘नेपथ्य’ को कन्सर्ट बुधबार हेटौंडामा हुने भएको छ। रमाइलो इभेन्टस् हेटौंडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गर्न लागेको हो ।
रमाइलो इभेन्टसको आयोजनामा माघ २१ गते नेपथ्य लाइभ कन्सर्ट हुनेछ। कन्सर्ट हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा हुनेछ। नेपथ्य तेस्रो पटक हेटौंडा आउन लागेको हो।
कन्सर्टमा ८ हजार भन्दा बढी मानिस आउन सक्ने अनुमान गरिएको छ । अहिले २ हजार भन्दा बढी टिकेट बिक्री भएको आयोजकको भनाइ छ । टिकटको मूल्य सामान्यतर्फ १५ सय रुपैयाँ र भिआइपीका लागि ४ हजार रुपैयाँ तोकिएको छ ।
कन्सर्ट आयोजनामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्यान्डले विगत ३० वर्षदेखि प्रस्तुति दिँदै आएको छ । संगीतमा रुचि राख्ने र संस्कृतिप्रेमीलाई एउटै प्लेटफर्ममा एक साथ ल्याउने उद्देश्यले कन्सर्ट आयोजना गरिएको आयोजकको भनाइ छ ।
