जेन–जी आन्दोलनमा प्रदेशसभा भवन आगजनीबाट पूर्ण क्षति भएपछि हेटौंडा उपमहानगरपालिका परिसरमा निर्मित हलमा अस्थायी रुपमा प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ ।
What you should know
हेटौंडा — बागमती प्रदेशसभाद्वारा हालसम्म ८९ वटा कानुन निर्माण गरेको छ। बागमती प्रदेशसभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।
प्रदेश चिठ्ठा विधेयक संसदबाट पारित भए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नहुँदा पुनः संसदमै विचाराधीन अवस्थामा रहेको छ । हाल प्रदेशसभामा तीन वटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभाको आठौ वार्षिकोत्सवको अवसरमा सचिवालयले गरेको पत्रकार सम्मेलनमा प्रदेशसभाका सभामुख अप्सरा चापागाईले प्रदेशसभा स्थापनादेखि हालसम्मको संक्षिप्त विवरण जानकारी गराएकी थिइन्।
प्रदेशसभाले पाचौं अधिवेशनमा ६ वटा बैठक सञ्चालन गर्दै ९ घण्टा २५ मिनेट समय खर्च गरेको थियो । त्यसैगरी छैटौं अधिवेशनमा २४ वटा बैठक बसेका छन् । जसमा ३९ घण्टा २१ मिनेट समय खर्च भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयले कानुन निर्माण, कार्यान्वयन तथा अपेक्षा सम्बन्धी स्थानीय तहसँग छलफल तथा अन्तर्क्रिया सञ्चालन गर्दै आएको छ । विषयगत समितिका सदस्यलाई विधेयक मस्यौदा तयारी तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम, प्रदेश निजामती ऐन, २०७९ को उत्तर विधायिकी प्रशिक्षण तथा सरोकारवालासँग छलफmल कार्यक्रमसमेत गरिएको छ ।
जेन–जी आन्दोलनमा हेटौंडा उपमहानगरपालिका-१० स्थित प्रदेशसभा भवन आगजनीबाट पूर्णरुपमा क्षति भएको छ । हेटौंडा उपमहानगरपालिकाको परिसरमा निर्मित हलमा अस्थायी रुपमा प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ । क्षति पुगेका भवनको मर्मत, सचिवालयको दैनिक कार्य सञ्चालन तथा विषयगत समितिको बैठक व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ जना निर्वाचित प्रदेशसभा सदस्य छन् । यसअघि प्रदेशसभाका ६ सांसदले प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि गत माघ ५ मा राजीनामा दिएपछि प्रदेशसभामा हाल १०४ जना सांसद रहेका छन् ।
