गाउँमा बिजुली पुगेपछि स्थानीय दंग

बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि घण्टौं हिँड्नुपर्ने बाध्यता थियो । बिजुली पुगेपछि उनीहरूलाई सहज भएको छ ।

माघ १५, २०८२

प्रताप विष्ट

Locals shocked after electricity reaches village

What you should know

हेटौंडा — लामो समय टुकीको भरमा रहेका मकवानपुरको बागमती गाउँपालिकका दुई बस्तीमा बिजुली पुगेपछि स्थानीय दंग छन् । बागमती–३, देउजर र गढनमा पहिलोपटक मंगलबार बिजुली बत्ती बालिएको हो । 

गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा बाँधिएको रिबन काटेर बत्ती बालेका थिए । ‘विकट गाउँलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम आउँदो रहेछ,’ घलानले भने ‘बत्तीले यहाँका बालबालिकाको भविष्य उज्यालो बनाओस् भन्ने चाहना छ ।’

औलोको त्रासका कारण १९९८ सालमा समथर भूभाग छोडेर स्थानीय देउजर र गढनशिर उक्लिएका थिए । तामाङ समुदायको बसोबास रहेको बस्तीका सर्वसाधरण टुकीकै भरमा थिए । बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि घण्टौं हिँड्नुपर्ने बाध्यता थियो । बिजुली पुगेपछि उनीहरूलाई सहज भएको छ । त्यहाँ बस्ती बसेको ८० वर्षसम्म बिजुलीलगायत आधारभूत सेवाका लागि संघर्ष गर्नु परिरहेको छ । 

अझै पनि वर्षातको समयमा आवतजावत गर्न समस्या रहेको वडाध्यक्ष कमानसिंह पाख्रिनले बताए । गत वर्ष गाउँपालिकाको कार्यालय झुरझुरेबाट १७ किलोमिटर दक्षिण र रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको क्षेत्रसम्म विद्युत् पुर्‍याउने लक्ष्य थियो । खोल्सा, भीर र अप्ठ्यारो भूगोलका कारण योजना धकेलिएको थियो । यस वर्ष स्थानीयको श्रम दान, पालिकाको लगानी र विद्युत् प्राधिकरणको सहयोगले गाउँमा विद्युत् पुर्‍याउन सफल भएको वडाध्यक्ष पाख्रिनले बताए । 

देउजरका ६२ र गढनसिरका १७ घरमा अहिले विद्युत् लाइन जडान गरिएको छ । प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको थियो । गाउँपालिकाले थ्री-फेज लाइनका लागि आवश्यक संरचना निर्माण गरेको थियो । बजारबाट स्थानीयले बिजुलीका पोल बोकेर गाउँ पुर्‍याएका थिए । 

‘बत्ती बालेपछि अब गाउँ छोड्नु पर्दैन,’ स्थानीय दिलबहादुर पाख्रिनले भने, ‘गाउँमा बिजुली पनि आयो, सडक पनि आयो । अब गाउँमै आशा जागेको छ ।’ विकट भूगोल र साना बस्तीका कारण दुई गाउँको विकास भएको थिएन । पाख्रिनका अनुसार यहाँका अधिकांस युवा मजदुरी गर्न बाहिर जाने गरेका छन् । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully