शैलुङमा हिउँ पर्न थालेपछि किसान खुसी, पर्यटकको चहलपहल बढ्ने अनुमान

लामो समयदेखि वर्षा नहुँदा सुख्खा बढिरहेको अवस्थामा बुधबार बिहानदेखि शैलुङका डाँडामा हिमपात सुरु भएको हो ।

माघ १४, २०८२

नवराज श्रेष्ठ

Farmers happy as snow begins to fall in Sailung, tourist traffic expected to increase

रामेछाप — रामेछापको शैलुङ क्षेत्रमा यस वर्ष मध्य माघमै हिउँ पर्न थालेको छ । लामो समयदेखि वर्षा नहुँदा सुख्खा बढिरहेको अवस्थामा बुधबार बिहानदेखि शैलुङका डाँडामा हिमपात सुरु भएको हो ।

हिउँ परेसँगै स्थानीय कृषकहरू खुसी भएका छन् । खेतबारीमा आवश्यक चिस्यान पुग्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा निवासी स्थानीय कृषक दावासाङ्बु शेर्पाका अनुसार हिउँ बिस्तारै पग्लिँदा माटोभित्र पर्याप्त पानी सञ्चित हुने भएकाले सिँचाइको समस्या कम हुने विश्वास गरिएको छ ।

‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोगको जोखिम घट्छ,’ उनले भने, ‘यस पटकको हिमपातले कृषकहरूलाई नयाँ आशा र उत्साह दिएको छ।’ अहिले भारी मात्रा हिउँ नपरे पनि हिउँ झर्ने क्रम बढिरहेकाले राति झन् धेरै हिउँ पर्ने सम्भावना रहेको उनले बताए । 

शैलुङ क्षेत्रमा आलु, गहुँ, जौ, उवा तथा मौसमी तरकारीको राम्रो उत्पादन हुँदै आएको छ । हिउँ नपरेको वर्ष आलुको उत्पादन घट्ने भएकाले हिमपातसँगै यस वर्ष राम्रो उत्पादन हुने आशा गरिएको कृषकहरू बताउँछन् ।

हिमपातपछि शैलुङका डाँडा सेताम्मे र मनोरम देखिएका छन् । हिउँ खेल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयको भनाइ छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully