नवनियुक्त अध्यक्ष पौडेल भन्छन् - भरतपुरलाई शिक्षण अस्पताल बनाऔँ

६ सय शय्या रहेको अस्पतालमा अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।

माघ १४, २०८२

रमेशकुमार पौडेल

Newly appointed chairman Poudel says - Let's make Bharatpur a teaching hospital

What you should know

चितवन — भरतपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा ढुण्डिराज पौडेलले अस्पताललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने योजना बनाएका छन् । नियुक्तिपछि सोमबार अस्पताल विकास समितिको बैठक पनि बसेको छ ।

‘शैक्षिक कार्यक्रम सञ्चालन गर्न पहिल्यैदेखि विभिन्न प्रयासहरू हुँदै आएका रहेछन् । अब यसलाई मूर्तरूप दिने भनेर बैठकले निर्णय गरेको छ,’ अध्यक्ष पौडेलले भने ।

‘सेवा लिनका लागि दिनमा २५ सयका हाराहारीमा आउने गरेको देखियो । कुनै दिन तीन हजार पनि नाघेका रहेछन् । ६ सय शय्या रहेको अस्पतालमा अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ । चिकित्सकहरू दुई सयभन्दा बढी छन् । त्यसैले यसलाई शैक्षिक प्रतिष्ठान बनाउन सकिन्छ,’ उनले भने । सरकारले २०७९ चैत १० मा भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउनेबारे महत्त्वपूर्ण निर्णय गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आङ्गिक अस्पतालका रूपमा भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम चलाउने निर्णय सरकारको थियो । २०८० सालको नीति तथा कार्यक्रममा एमबीबीएस पढाउने पनि भनिएको थियो । ‘यसका लागि हामीले शिक्षकको माग गर्‍यौँ । ५७ जनाले निवेदन पनि दिनुभयो । कक्षा कोठा पनि तयार गर्‍यौँ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले भने ।

सबै तयारी गरे पनि पोखरा र दाङलाई अनुमति दिँदा भरतपुरको अनुमति नआएको सुपरिन्टेन्डेन्ट डा पौडेलले बताए । भरतपुर अस्पतालको मंसिर २१ मा भएको एक कार्यक्रममा आएकी स्वास्थ्य मन्त्री डा सुधा गौतमले मेडिकल कलेज चलाउने विषय सुन्दा राम्रो लागे पनि बनाउन आवश्यक नरहेको धारणा राखेकी थिइन् । दुई वटा मेडिकल कलेज भएको भरतपुरमा तेस्रो किन भनेर उनले प्रश्न गरिन् ।

‘भरतपुरलाई यहाँजस्तो खाले असाध्य रोग पनि निको हुन्छ भन्ने अस्पताल बनाउने हो । यहाँ पनि त्यही विद्यार्थी पढाउने ? विद्यार्थीमाथि विद्यार्थी किन ? भएको पनि धराशायी हुने । त्यो किन गर्नु ? मलाई पपुलिस्ट हुनु छैन । मेरो ब्रह्म र विवेकले देखेको यथार्थ यही हो,’ मन्त्री डा गौतमले भनेकी थिइन् । नवनियुक्त अध्यक्ष डा पौडेलले गुणस्तरीय उपचारका लागि शैक्षिक प्रतिष्ठान आवश्यक भएको बताए ।

‘हामीले अहिले चलाइरहेको सामान्यदेखि विशिष्ट र अति विशिष्टीकृत सेवा र अस्पतालसँग रहेका भवनलगायतका पूर्वाधार र जमिनका कारण एमबिबिएस, एमएस, डीएमएस, एमसिएचलगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सहज र सम्भव छ,’ अध्यक्ष डा पौडेलले भने । राष्ट्रिय चिकित्सा विज्ञान संस्थान र भरतपुर अस्पताललाई शिक्षण अस्पताल र अनुसन्धान केन्द्र बनाउन उनले माग गरे ।

‘यसका लागि ऐन, नियम बनाऔँ । अहिले निर्वाचनको अवस्था छ । निर्वाचनमा उठ्दै गरेकाहरूले यसलाई मनन गरून् भन्ने मेरो आग्रह छ । कानुन उहाँहरूले बनाउने हो,’ डा पौडेलले भने । संस्थान वा प्रतिष्ठान बनाएर राजनीतिक नियुक्ति लिने परिपाटीलाई कानुन र नियमले नै रोक्न आवश्यक रहेको उनले बताए । योग्यताको आधार तोकेर लोकसेवाबाट नियुक्ति लिने विधि बनाउन उनले सुझाव दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully