राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी

राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

माघ ११, २०८२

प्रताप विष्ट

National Assembly election: Congress-UML alliance wins in Bagmati Province

हेटौंडा — राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा र नेमकिपाका गरी ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् ।

स्थानीयतर्फ १६१ मतसहित ३,०५९ गरी देवकोटाले कुल ६ जार २ सय ३९ मतभार पाएकी थिइन् । अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार पाएका थिए । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार पाए । 

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २,५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७  मतभार पाइन् । अन्यतर्फ नेकपाका प्रेमप्रसाद सापकोटाले २,५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाए ।

बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीयतर्फ स्थानीय तहका २२९ जना प्रमुख र उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए । प्रदेश सभातर्फ ४ हजार ७१७ मतभार खसेको थियो भने स्थानीयतर्फ ४ हजार ३५१ मतभार खसेको थियो । कुल ९,०६८ मतभार खसेको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully