विद्यालयका प्रधानाध्यापक अमृत थापाले दुर्गम हिमाली भेगका विद्यार्थीलाई यस्तो सहयोग प्राप्त हुनु अत्यन्त सकारात्मक भएको बताए ।
रामेछाप — सैनिक श्रीमती संघले आफ्नो कल्याणकारी तथा सेवामूलक सामाजिक अभियानअन्तर्गत रामेछापको दुर्गम हिमाली क्षेत्रमा रहेको विद्यालयका १ सय ६७ जना विद्यार्थीलाई न्याना कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
उमाकुण्ड गाउँपालिका–१ स्थित श्री महालङ्गुर माध्यमिक विद्यालयमा बुधबार आयोजित कार्यक्रममा संघकी सदस्य कोपिला काफ्ले नेतृत्वको टोलीले विद्यार्थीलाई ज्याकेट, टोपी, ब्याग, जुत्ता र मोजासहितका न्याना पोसाक वितरण गरेको हो ।
साथै विद्यालयलाई एक थान कम्प्युटर, कपी १५ दर्जन, सिसा कलम १२ दर्जन, रजिस्टर १२ थान, भलिबल र नेट २/२ थान, चार सेट ब्याडमिन्टन तथा विभिन्न कथाका पुस्तकहरू पनि प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक अमृत थापाले दुर्गम हिमाली भेगका विद्यार्थीलाई यस्तो सहयोग प्राप्त हुनु अत्यन्त सकारात्मक भएको बताए । यसले विद्यार्थीलाई राहत मिल्नुका साथै शिक्षामा थप प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली सेनाको खड्गदल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भोला भट्ट, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
प्रमुख जिल्ला अधिकारी थापाले दुर्गम क्षेत्रका विद्यालयलाई लक्षित गरी सैनिक श्रीमती संघले न्याना पोसाक, शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गरे । यस सहयोगले विद्यार्थीको स्वास्थ्य, शिक्षा र खेलकुद क्षमतामा सकारात्मक सुधार आउने उनको अपेक्षा छ ।
