वायु उर्जा मर्मत गर्ने क्रममा करेन्ट लागेर सहयोगीको मृत्यु

निस्दी गाउँपालिका–४ मित्याल खोप्लाक घरभएका खन्गाहाको उपचारका क्रममा मध्यविन्दु अस्पताल नवलपुरमा मृत्यु भएको हो।

माघ ५, २०८२

माधव अर्याल

Helper dies after being electrocuted while repairing wind turbine

पाल्पा — वायु उर्जा मर्मत गर्ने क्रममा करेन्ट लागेर पाल्पाको निस्दी गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको छ ।

आइतबार दिउँसो वायु उर्जाको पोलमा चढेर मर्मत गर्ने क्रममा खन्गाहालाई करेन्ट लागेको गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिए। तत्काल बिजुली बन्द गरेपछि उनी भूइँमा खसेका थिए।

निस्दी गाउँपालिका–४ मित्याल खोप्लाक घरभएका खन्गाहाको उपचारका क्रममा मध्यविन्दु अस्पताल नवलपुरमा मृत्यु भएको प्रहरी चौकी मित्यालले जनाएको छ ।

वायु उर्जाको विद्युतमा समस्या देखिएको र पोलमा चढ्ने क्रममा करेन्ट लागेको हो । वायु उर्जा मर्मत गर्ने तािलमसमेत लिएका उनले यसअघि पनि मर्मत गर्दै आएका थिए । गाउँपपालिकालाई हस्तान्तरण गरेपछि खन्गाहाकै रेखदेख थियो । मृतक खन्गाहाको शव सोमबार पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिनेछ। 

निस्दी गाउँपालिका–४ मित्याल रुक्सेभन्ज्याङमा हावाबाट २५ किलोवाट बिजुली निकालिएको छ । यहाँ ठूला दुई पंखा राखिएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएपछि हावा र सोलारबाट निकालिएको विजुली गाउँपालिका र रुक्सेभन्ज्याङ् बजारमा प्रयोगमा आएको थियो।

हावा र सोलारबाट उत्पादन गरेको विजुली वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले निस्दी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । गाउँटोलमा राष्ट्रिय प्रसारण लाइन जडान भएपछि हावा र सोलारबाट उत्पादन भएको विजुली खेर जाने अवस्थामा पुगेकाकाले गाउँपालिकाको ब्याकअप र रुक्सेभन्ज्याङ बजारमा सडक बत्तीमा प्रयोग गरिएको हो।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully