पोतेका दानालाई धागोमा उनेर विभिन्न आकार दिँदै आएकी सन्ध्या गाैरेले शुक्रबार नारायणगढको पुतली बजारमा पसल नै खोलेर आफ्नो उद्यमशीलतालाई उचाइ दिएकी छन् ।
What you should know
चितवन — युट्युबबाट सिकेको सीपले कोरोनाको बेला व्यापार बढाउने अवसर जुर्यो । टेलिभिजनमा प्रशारण हुने बिजनेश रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ले लगानीकर्ता जुटाइ दियो ।
पोतेका दानालाई धागोमा उनेर विभिन्न आकार दिँदै आएकी सन्ध्या गाैरेले शुक्रबार नारायणगढको पुतली बजारमा पसल नै खोलेर आफ्नो उद्यमशीलतालाई उचाइ दिएकी छन् ।
सुरुमा युट्युब हेरेर धागोबाट हस्तकलाका विभिन्न सामग्री बनाउन थालेको उनले बताइन् । त्यसको खासै बजार नदेखेपछि उनले सोधीखोजी बढाइन् । युट्युबमै अफ्रिकनहरुले रंगीबिरंगी कलात्मक पोतेहरु लगाएको देखेपछि उनले पनि यस्तै सामग्रीहरु बेच्ने मन बनाइन् ।
नारायणगढ क्षेत्रपुर माइत भएकी सन्ध्याको घर बुटबल जोगिकुटीमा हो । उनी पोते खोज्दै बुटबल बजार डुलिन् । ‘युट्युबमा अफ्रिकनहरुले पहेंलो रंगको डिजाइनदार पोते लगाएको देखेपछि मलाई पनि त्यस्तै बनाएर बेच्न मन लाग्यो । तर बुटवलमा खोज्न जाँदा पहेलो रंगको पोते नै फेला परेन,’ सन्ध्याले सुनाइन् ।
यो आठ वर्षअघि भएको घटना हो । पोते हिन्दु नारीका लागि निकै महत्वपूर्ण वस्तु हो। विवाहित नारीले पोते लगाएकै हुन्छन् । बुटबल बजारमा खोजे अनुसारको पोते नपाएपछि उनी छक्कै परिन् । ‘मैले सुरु सुरुमा पाँच हजार रुपैयाँमा मोती दाना किनेर माला बनाउँदै वरपरका साथी, दिदीबहिनीहरुलाई बेच्थें । अफ्रिकन महिलाहरुले पोते लगाएको देखेपछि त्यस्तै बनाउने सोंच आए पनि बुटवलमा नपाएपछि काठमाडौं गएर ५० हजार रुपैयाँको पोते किनेर ल्याए,’ सन्ध्याले भनिन्। पोते देखेर महिलाहरुले डिजाइन, रंग र आकार रोज्न थाले ।
उनले काठमाडौंबाट रेडिमेट पोतेहरु किनेर बेच्ने गरेकी थिइन् । ‘तर दिदी बहिनीहरुले मैले घरमै बनाएको ठान्नुभएछ। मलाई यस्तो बनाइ दिनुस्, यो लामो भयो छोटो बनाइ दिनुस् भन्न थाल्नु भयो । त्यसैले मैले यो पोते उन्ने कला पनि नसिकि भएन,’ सन्ध्याले भनिन् । त्यसपछि उनले युट्युबमै हेरेर पोतेका डिजाइन बनाउन सिकिन् । यसरी बनेका सामग्रीहरु उनले वरपर नै बेच्दै आएकी थिइन् ।
पछि सामाजिक सञ्जाल टिकटकमा सामान राखेर अनलाइन मार्फत बिक्री गर्न सुरु गरिन्। कोरोना सुरु हुने बेलामा माइती क्षेत्रपुर आएकी थिइन् । लकडाउन भएपछि उनी यतै रोकिन् । उनले मइतबाटै काम सुरु गरिन् । एक जना बहिनीलाई तालिम दिएर पोते बुन्न लगाइन् । ‘अहिले चार जना मसँगै रहेर पोते बुन्नुहुन्छ । चार/पाँच जना कारागारमा रहेकाहरुले बुन्नुहुन्छ,’ सन्ध्याले भनिन् ।
बीचमा टिकटक बन्द हुँदा फेसबुकमा रिल्स र भिडियो राखेर समानको प्रचार र बिक्री गरिन् । ‘यही फेसबुक हेर्दा शार्क ट्याङ्कको भिडियो देखेको थिए । मैले पनि निवेदन दिए आफ्नो विजनेश आइडियासहित । पछि कल आयो र गएँ । त्यहाँबाट २० लाख रुपैयाँ लगानी पनि जुट्यो,’ उनले भनिन् । शार्क ट्याङ्कका उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरुले सहभागीलाई लगानी गर्न सक्छन् ।
गएको असारमा शार्क ट्याङ्कमा सन्ध्याको पोते सम्बन्धी उद्यमशील योजनालाई क्याबिनेट श्रेष्ठले २० लाख रुपैयाँ लगानी गर्ने भए। उनै क्याबिनेट श्रेष्ठलाई प्रमुख अतिथि बनाएर सन्ध्याले शुक्रबार साँझ पुतली बजारमा आफ्नो पहिलो शोरुम उद्घाटन गराइन् । अनलाइनबाट अब उनको उद्यम शोरुममा सरेको छ । व्यवसाय बढ्दै जाने ठूलो आशा राखेको उनले बताइन् । ‘पोते जस्तो परम्परागत विषलाई आफ्नो उद्यम बनाएर सात आठजनालाई रोजगार पनि दिनु राम्रो कुरा हो । त्यसैले मलाई लगानी गर्न इच्छा जागेको हो,’ उद्घाटन गर्न आएका क्याबिनेट श्रेष्ठले भने । सन्ध्याले तयार गरेको पोते विदेशमा बस्ने नेपाली महिलाहरुले पनि मगाउने गरेका छन् ।
नेपालमा रहेका आफन्तहरुले विदेशमा बस्ने आफन्त महिलालाई उपहार र कोसेली पठाउनु परे उनको डिजाइनदार पोते अर्डर गर्छन् । त्यसैले यो व्यवसायको सम्भावना राम्रो रहेको सन्ध्या बताउउँछिन् । शार्क ट्याङ्कमा गएर जुटेको २० लाख रुपैयाँ तीन वर्षपछि फिर्ता गर्नु पर्छ । ३५ प्रतिशत साझेदारीमा लगानी गरेका कारण खुद नाफामध्येबाट तीन वर्षसम्म ३५ प्रतिशत क्याबिनेट श्रेष्ठलाई पनि दिनु पर्ने छ ।
ग्राहकहरुको साथ र प्रेरकहरुको हौसला पाएका कारण आफु धेरै उत्साहित भएको सन्ध्याले बताइन् । ‘पाँच हजार रुपैयाँबाट सुरु गरेको काम हो । सबैले साथ दिइरहनु भएको छ । तीन वर्षपछि २० लाख रुपैयाँ फिर्ता गर्न सक्छु भन्ने आँट छ । व्यापार पनि त्यही अनुसारको छ । आज पसल खोल्न सफल भएको छु । गर्दै जाँदा रोजगारी पनि थपिएला, कारोबार पनि बढ्दै जाने छ,’ सन्ध्याले भनिन् ।
