चिउरीको फूललाई लक्षित गरेर हेटौंडा, चितवन, काठमाडौंलगायत क्षेत्रका कृषकले करिब १५ सय घार मौरी यहाँ चराउन ल्याएका छन्।
What you should know
हेटौंडा — चिउरीको मह खरिद गर्न व्यापारीहरु चरन क्षेत्रमै पुग्न थालेपछि मौरीपालक कृषक उत्साहित भएका छन्। यतिबेला मौरीपालकलाई मह निकाल्न भ्याईनभ्याई भएको छ।
विगतका वर्षका मह उत्पादन गरेपछि विक्री गर्न लोथर बजार पुग्नु पर्थ्यो । अहिले गाउँको चरन क्षेत्रमै व्यापारी आएर मह खरिद गरेर लैजान थालेका छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका-६ सिलिङे क्षेत्रमा करिब ५ हजार भन्दाबढी मौरीका घार राखिएको छ। चिउरीको फूललाई लक्षित गरेर हेटौंडा, चितवन, काठमाडौंलगायत क्षेत्रका कृषकले यहाँ चराउन करिब १५ सय भन्दाबढी घार मौरी ल्याएका छन्। सिलिङे क्षेत्रका चेपाङ समुदायको करिब ३ हजार ५ सय मौरीको घार छन्। चिउरीको फूललाई लक्षित गरेर सिलिङे वरिपरिका बस्ती चापल, धुसराङ, खरखन्डे र सिलिङेमा जमिन नै सेताम्मे हुने गरी घार राखिएका छन् । यहाँ झण्डै ५ हजार भन्दाबढी मौरी घार राखिएको स्थानीय सिंहबहादुर चेपाङले बताए।
सिलिङेका मौरीपालक कृषक आइतेसिंह चेपाङका १ सय ५० घार छन् । गत वर्ष उनले ७ लाख रुपैयाँ भन्दा बढीको मह बिक्री गरेका थिए । यो वर्ष १२ लाख रुपैयाँ भन्दा बढीको मह बिक्री हुने उनको अनुमान छ । ‘अहिले चरन क्षेक्रमा मह काढ्ने बितिक्कै नगदमै बेचिने गरेको छ,’ उनले भने, ‘भाउ पनि राम्रो छ ।’
व्यापारीले चरन क्षेत्रबाट नै प्रतिकेजी ४ सय रुपैयाँमा खरिद गरिरहेका छन् । ‘गत वर्ष ३ सय रुपैयाँ प्रतिकेजी मह बिक्री भएको थियो । बेच्न पनि लोथर बजार नै पुग्नु पर्थ्यो,’ आइते सिंहले भने,‘अहिले चरन क्षेत्रका व्यापारी आएर हानथाप गरेर लैजाने गरेका छन् ।’
उनले शनिबारसम्म एउटा घारबाट तीन फटक मह निकालेर बिक्री गरिसके । अहिलेसम्म मह बित्री गरेर उनले ३ लाख २५ हजार रुपैयाँ हात पारेको बताए । यो सिजनमा अझै ५ पटक मह निकाल्न सकिने उनले बताए । एउटा घारबाट बढीमा ८ पटक मह निकाल्न सकिन्छ । ‘एउटा घारबाट एक पटक मह काढ्दा करिब एक केजी उत्पादन हुने गर्छ,’ स्थानीय मह व्यापारी दिनेश चेपाङले भने,‘मह उत्पादनका लागि हावापानी सुहाउँदो छ, चिउरीको बोटमा फूल पनि टन्नै फुलेको छ ।’ घाम लागेकाले मौरीले मह संकलन गर्न सहज मौसम रहेको उनले बताए ।
मकवानपुरका चेपाङ समुदायले उत्पादन गरेको चिउरीको महको माग दैनिक रुपमा बढ्दै गएको छ । लामो समयदेखि चिउरीको महको बजार व्यवस्थापनको जिम्मेवारी लिएको लोथरस्थित जनचेतना कृषि सहकारी संस्थामा मह खरिद गर्न उपभोक्ता तथा व्यापारीहरुले कम्तीमा एक साता कुर्नुपर्छ। काँकडा क्षेत्रका मौरीपालक कृषकले मह बिक्री गर्न यही सहकारीमा आउँथे । अहिले व्यापारीहरु नै चरन क्षेत्रमा पुग्ने भएकाले सहकारीमा पनि विगतका वर्षको जसरी बिक्रीका लागि मह आउँदैन । ‘यो वर्ष यहाँबाट ६० टन मह बिक्री हुने अनुमान छ,’ मौरीपालक दिपेन चेपाङले भने, ‘विगतका वर्ष भन्दा घार पनि धेरै छ, मौसम पनि राम्रो छ ।’ गत वर्ष ४५ टन मह बिक्री गरिएको थियो । यस क्षेत्रका मौरीपालक कृषकहरु एक सय जना भन्दाबढी छन् । चिउरीको महको स्वाद र गुणस्तर राम्रो भएकाले माग बढेको हो ।
चिउरीको मह मंसिरदेखि चैत पहिलो सातासम्म उत्पादन हुने गर्छ । महबाटमात्र राक्सिराङ गाउँपालिका—६ (साविकको काँकडा गाविस)मा वर्सेनि २ करोड रुपैयाँ भित्रिने गर्छ । विगतमा चेपाङ समुदाय मुढेघारमा स्थानीय सेरेना जातको मौरीपाल्थे। अहिले विकासे मेलिफेरा जातको आधुनिक घारमा पालन गरिरहेका छन्। साविकको काँकडामा मात्रै साढे २ लाख भन्दा बढी चिउरीका रुख रहेका छन् । चेपाङ समुदायको संस्कृति र जीवनसँग जोडिएको चिउरीको संरक्षणका काँकडाका चेपाङ समुदायले ५ वर्षदेखि अभियाननै संचालन गरेका छन् ।
