रामेछापमा निर्वाचन प्रहरीका लागि माघ १ गतेसम्म ५७६ पुरुष र २०३ महिलाको आवेदन परेको छ।
What you should know
रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि माग गरिएको निर्वाचन प्रहरीमा रामेछापमा अपेक्षित आवेदन नपरेपछि आवेदन समयावधि दुई दिन थप गरिएको छ ।
जिल्ला प्रहरी रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ १ हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक छन् । सशस्त्र प्रहरी तर्फ ९६ जना आवश्यक छन् ।
सोही अनुसार गत पुस २५ देखि माघ १ गतेसम्म आवेदन आह्वान गरिएको थियो । तर तोकिएको समयभित्र आवश्यक सङ्ख्यामा आवेदन नपुगेपछि माघ ३ गते शनिबारसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको हो ।
उनका अनुसार माघ १ गतेसम्म ७ सय ७९ जनाको आवेदन परेको थियो । जसमा ५७६ पुरुष र २०३ जना महिला छन् ।
निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम गर्न अस्थायी रूपमा निर्वाचन प्रहरी परिचालन गरिने व्यवस्था छ । तर यस पटक रामेछापमा युवाहरूको सहभागिता अपेक्षा अनुसार देखिएन । म्याद थपपछि शुक्रबार दिउँसोसम्म आवेदन दिनेको सङ्ख्या ८ सयभन्दा बढी पुगेको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए । 'अहिलेसम्म ८ सय प्लस भइसकेको छ, भोलिसम्म म्याद छ, आवश्यक सङ्ख्या पुग्ने आशा छ,' उनले भने ।
जिल्ला प्रहरी कार्यालयले तोकिएको योग्यता पुगेकालाई समयमै आवेदन दिन आग्रह गरेको छ । निर्वाचन प्रहरीको दरखास्त फारम इलाका प्रहरी कार्यालय चोप्राङ (खाँडादेवी), धोबीडाँडा र टोकरपुरबाट पनि भर्न सकिने व्यवस्था गरिएको छ ।
रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत ६४ वडा रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ रहेको जिल्लामा मतदाता सङ्ख्या वृद्धि भएपछि यस पटक दुई मतदान केन्द्र थपिएका छन् ।
जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार अघिल्लो निर्वाचनमा २२६ रहेका मतदान केन्द्र यसपटक २२८ पुगेका छन् भने मतदानस्थल सङ्ख्या ९६ वटा कायम रहेको छ ।
