आगो भोटेकोसी गाउँपालिका–२ लिपिङभन्दा माथिल्लो लेकक्षेत्रतर्फ सरेपछि तातोपानी नाका पुनः ठप्प बनेको छ ।
What you should know
सिन्धुपाल्चोक — चीनको न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा आइतबार रातिदेखि लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीकाअनुसार न्यालम र खासाको मध्यभाग तथा छोबिन क्षेत्रको आगलागी नियन्त्रणमा नआएकाले नाका सञ्चालन सम्भव नभएको चिनियाँ प्रशासनले जानकारी गराएको छ ।
आगो भोटेकोसी गाउँपालिका–२ लिपिङभन्दा माथिल्लो लेकक्षेत्रतर्फ सरेपछि तातोपानी नाका पुनः ठप्प बनेको छ । आगलागीका कारण पुरानो खासा बजारतर्फ जाने बाटोमा अलपत्र परेका सवारीसाधन नेपालतर्फ ल्याउन बुधबार एक दिनका लागि नाका खोलिएको थियो ।
ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बुधबार बिहान ८ बजेर १९ मिनेटमा करिब १ सय ५० स्थानीय सवारी चालकलाई चीनतर्फ प्रवेश गर्न अनुमति दिइएको थियो । 'खासा र न्यालमको मध्य भागको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्, त्यँहाको आसपासका स्थानीयलाई स्थानन्तरण गरिएको खबर छ, जसकारण बुधबार एक दिन खुलेको नाका पुनः बिहीबार बन्द गरिएको हो,' उनले भने ।
नाका बन्द हुँदा चीनतर्फ जानुपर्ने झण्डै चार सय कन्टेनर अलपत्र परेका छन् । यसले व्यवसायी र आयातकर्तालाई थप चिन्तामा पारेको छ । यद्यपि, सोही दिन तातोपानी नाकाबाट सर्वसाधारणको आवतजावत भने अस्थायी रूपमा रोकिएको थियो । आगलागीका कारण चीनतर्फको भन्सार कार्यालयको प्रणाली (सिस्टम) सञ्चालनमा आउन नसक्दा आवतजावत प्रभावित भएको जनाइएको छ ।
नाकामा नियमित आवतजावत कहिलेदेखि खुल्ने भन्ने विषयमा चीनतर्फको भन्सार प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र निर्णय हुने बताइएको छ । ‘डढेलो लिपिङभन्दा माथिल्लो क्षेत्रमा थोरै सल्किएकाले हेलिकप्टरमार्फत पानी फ्याँकेर आगो निभाउने र निरीक्षण गर्ने प्रयास भइरहेको जानकारी चिनियाँ पक्षबाट आएको छ,’ प्रहरी निरीक्षक राईले भने ।
यता, सल्किएको आगो लिपिङको माथिल्लो डाँडाक्षेत्र र खरानी पोखरी आसपाससम्म फैलिन सक्ने जोखिम रहेको स्थानीयले जनाएका छन् । मितेरी पुलबाट करिब १० घण्टा पैदल हिँडेर पुगिने बगामको शिरभेगस्थित जंगलमा आगो सल्किरहेको बताइएको छ ।
स्थानीयवासीका अनुसार चिनियाँ सीमावर्ती वन क्षेत्रमा डढेलो फैलिँदा खर्क सखाप हुने डरले चौरी गोठाला आत्तिएका छन् । चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाकाको माथिल्लो भू–भागमा समेत आगो देखिएको जानकारी दिएका छन् । आगलागीको प्रभावले नाकापारिको सम्पूर्ण सञ्चार सेवा समेत प्रभावित भएको छ ।
