निःशुल्क बस सेवा पाएपछि देवघाट जाने भक्तजन दंग

चितवन प्रशासन र प्याब्सनको सहकार्यमा माघे संक्रान्तिमा देवघाट जाने भक्तजनका लागि १० वटा निःशुल्क बस सञ्चालनमा ल्याइएको छ ।

माघ १, २०८२

राजु चौधरी

Devotees heading to Devghat shocked after receiving free bus service

What you should know

चितवन — बिहीबार बिहानैदेखि देवघाटमा स्नान गर्न जाने भक्तजनको घुइँचो थियो । युवादेखि वृद्धवृद्धासम्म कोही हिँडेरै त कोही सार्वजनिक गाडी चढेर देवघाट जाँदै गरेको दृश्य देखिन्थ्यो । त्यही भीडमा पहेँलो रङको बसले भक्तजनहरूलाई निःशुल्क रूपमा देवघाट पुर्‍याउने र ल्याउने दृश्यले सबैको ध्यान खिच्यो ।

सोही बसमा चढ्न भक्तजनहरू तँछाडमछाड गरिरहेको देखिन्थे । चितवन प्रशासनले पहिलो पटक माघे संक्रान्तिको दिन देवघाटमा स्नान गर्न जाने भक्तजनहरूका लागि निःशुल्क बस सेवा दिएपछि भक्तजनहरूमा खुसीको सीमा नै रहेन ।

बर्सेनि माघे संक्रान्तिमा देवघाट स्नान गर्न पुग्ने गरेकी भरतपुरकी शैलता बराल पहिलो पटक निःशुल्क बस चढ्न पाउँदा दंग थिइन् । ‘धेरै पटक माघे संक्रान्तिमा देवघाट आइयो, तर पहिलो पटक यसरी निःशुल्क बस चढ्न पाएको अनुभव मिल्यो,’ चितवन प्रशासनलाई धन्यवाद दिँदै बरालले भनिन्, ‘वृद्धवृद्धादेखि सबैका लागि यो महत्त्वपूर्ण सेवा रह्यो, अर्को वर्ष पनि यस्तै सुविधा पाइयोस् ।’

Devotees heading to Devghat shocked after receiving free bus service

बरालसँगै बस चढेकी ७० वर्षीया वृद्धा सीता वाग्ले पनि निःशुल्क बस सेवा पाएकोमा दंग थिइन् । ‘देवघाट स्नान गर्न बिहानै आइयो, अहिले फर्किँदा निःशुल्क बस चढ्न पाउँदा धेरै खुसी लाग्यो,’ वाग्लेले भनिन् । उनीहरू जस्तै बस चढ्ने सबै खुसी र दंग थिए ।

बिहान निःशुल्क बस चढेर देवघाट पुगेकाहरू फर्किँदा पनि सोही बसको प्रतीक्षामा देखिन्थे । विगतका वर्षहरूमा यातायात सहजता नहुँदा भक्तजनहरूले धेरै दुःख पाएको गुनासो सुनिन्थ्यो । त्यही अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यसपटक निःशुल्क बस सेवा व्यवस्था गरेको हो ।

Devotees heading to Devghat shocked after receiving free bus service

‘गत वर्ष मेलामा सहभागी भएका साथीहरूको अनुभवका आधारमा सल्लाह गरेर यस वर्ष २/३ वटा कुरा सुधार गरेका छौँ । यात्रुहरूले धेरै नै दुःख पाएको अनुभव सुनेपछि प्याब्सन चितवनको सहकार्यमा निःशुल्क बस सञ्चालन गर्ने निर्णय गरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यसले ट्राफिक व्यवस्थापनमा पनि सहजता ल्याएको छ भने वृद्धवृद्धा, अशक्त र सहारा चाहिने भक्तजनलाई सहजता मिलेको महसुस भएको छ ।’

प्रजिअ अर्यालका अनुसार आवश्यकताका आधारमा साँझसम्म निःशुल्क बस सेवा सञ्चालन रहनेछ । ‘हामीले समय तोकेका छैनौँ, जुनबेलासम्म भक्तजनको आवतजावत रहन्छ, त्यहीबेलासम्म हामी सेवा दिन तयार छौँ,’ प्रजिअ अर्यालले भने ।

Devotees heading to Devghat shocked after receiving free bus service

उनका अनुसार यस वर्ष देवघाट जान–आउन एकतर्फी रुटसमेत निर्धारण गरिएको छ, जसका कारण भक्तजनहरू लामो सवारी जाममा फस्नु परेको छैन । बिहीबार बिहान ६ बजेदेखि नै भरतपुरको आँपटारीदेखि देवघाटसम्म पुग्न १० वटा निःशुल्क बस सञ्चालनमा छन् । आठ वटा प्याब्सनले उपलब्ध गराएको बस र दुई वटा नेपाल प्रहरीकै बस सञ्चालनमा छन् ।

सामाजिक कार्यमा प्याब्सन सधैँ अग्रसर रहँदै आएको भन्दै भक्तजनको सहजताका लागि प्याब्सनले बस उपलब्ध गराएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले जानकारी दिए । ‘हामी सामाजिक सेवामा सधैँ अग्रसर हुन्छौँ । चितवन प्रशासनबाट सहकार्यका लागि प्रस्ताव आएपछि सहर्ष स्वीकार गरी बस उपलब्ध गराएका हौँ,’ अध्यक्ष पुरीले भने ।

Devotees heading to Devghat shocked after receiving free bus service

उनका अनुसार रत्ननगरबाट दुई वटा बाहेक अन्य सबै सब–पायक पर्ने स्थानका बसलाई छनोट गरी पठाइएको हो । अध्यक्ष पुरीले जेन-जी आन्दोलन पश्चात् पनि प्याब्सनले १० लाखभन्दा बढी मूल्यको विभिन्न सामग्री सहयोग गरेको स्मरण गराउँदै सामाजिक कार्यमा प्याब्सन सधैँ अग्रसर हुने बताए ।

सडकमा जाम कम गर्न आँपटारीदेखि देवघाटसम्मको बाटोमा एकतर्फी फर्किने गरी रुट निर्धारण गरिएको छ । सवारी साधनबाट देवघाट जाँदा रामनगर हुँदै जानुपर्ने हुन्छ । यस्तै मेलामा अप्रिय घटना नहोस् भन्नका लागि चितवन प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । नदीमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोली खटिएका छन् । चितवन प्रशासनले भक्तजनको सुरक्षालाई विशेष ख्याल गर्दै गोताखोरसहितको टोली परिचालन गरेको हो । 

Devotees heading to Devghat shocked after receiving free bus service

सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण आँपटारीबाट गोताखोरसहितको ५५ जना टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक यामबहादुर मगरले संगमस्थल बेनीमा विगतका वर्षहरूमा मानिस डुबेर बेपत्ता हुने भएकाले सोही स्थानलाई विशेष ध्यानमा राखेर टोली परिचालन गरिएको जानकारी दिए ।

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully