३ सय ५० वर्ष अगाडिबाट मनाउँदै आएको जनविश्वास रहेको यो पर्व काठमाडाैंमा १२ वर्षको एक पटक र ललितपुरमा पाँच वर्षमा एक पटक मनाउने गरिन्छ।
What you should know
भक्तपुर — भक्तपुरका नेवार समुदायले माघे संक्रान्तिलाई घ्यू, चाकु संल्हुको रुपमा मनाएका छन् भने बौद्ध धर्मावलम्बीले सम्यक दान पर्वको रुपमा मनाएका छन्।
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भक्तपुरका पाँच दीपंकर बुद्धलाई दुधपाटीस्थित थथुवही विराजमान गराई विधिवत रुपमा दान गरी यो पर्व मनाइन्छ। यस दिनमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफुल र मिठाई प्रदान गरी सम्यक भोजन दान गरिन्छ ।
यो पर्व ३ सय ५० वर्ष अगाडिबाट मनाउँदै आएको जनविश्वास छ। यो पर्व काठमाडाैंमा १२ वर्षको एक पटक र ललितपुरमा पाँच वर्षको एक पटक मनाइँदै आएको छ । सम्यक दान पर्वमा काठमाडाैंको प्रशन्नशील महाविहार, साकोथा चतब्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकीर्ति महाविहार, भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धलाई भूमिबाट उव्जाउ हुने अन्न तथा तिल मिसाइएको भात चढाइन्छ ।
भक्तपुरका प्रमुख पाँच दीपंकर बुद्धको प्रतिमूर्तिहरुलाई सम्बन्धित विहारबाट वर्षमा २ पटकमात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ। त्यसमध्येको एकदिन सम्यक दान पर्व पनि हो ।
यस पर्वमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भएर आएका गृहस्थ बौद्ध भिक्षुहरु लगायत शाक्य र बज्राचार्यहरुलाई भोजन, अन्न र दक्षिणा दान गर्ने चलन रहेको छ। गत वर्ष १ हजार ५ सय जना थिए भने यस वर्ष २ हजार जनालाई भोजन तथा अन्न र दक्षिण गर्न गरिएको थियो। बौद्ध धर्ममा दान दिन र दान लिनु नै पुण्य कमाउनु हो भन्ने मान्यता छ ।
