हेरालुहरुले बेला/बेलामा बाँदर धपाउन प्रयोग गर्ने ठूलो आवाज आउने बन्दुक पनि पडकाएर पानी हाँसलाई धपाउने गर्छन् ।
What you should know
हेटौंडा — जाडो छल्न र आहाराको खोजीमा साइबेरियादेखि हेटौंडाको माछापालनमा आएका पानी हाँसबाट पोखरीको माछा जोगाउन दैनिक ३ जना हेरालु खटिने गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित मत्स्य केन्द्रले साइबेरियाबाट आएका पानी हाँसबाट पोखरीका माछाहरु जोगाउन बिहान उज्यालो भएदेखि अँध्यारो नभएसम्म तीन जना हेरालुले हातमा गुलेली लिएर पानी हाँस धपाउने गर्छन् ।
हेरालुहरुले बेला/बेलामा बाँदर धपाउन प्रयोग गर्ने ठूलो आवाज आउने बन्दुक पनि पडकाएर पानी हाँसलाई धपाउने गर्छन् । ‘जाडो सूरु भएपछि बाहिरबाट हुलका हुल पानी हाँस आएर पोखरीका माछा खाइदिने गरेकाले दैनिक ३ जना हेरालुहरु खटाएका छौं,’ मत्स्य केन्द्रका प्रमुख सरोज यादवले भने, ‘हेरालु खटाउँदा पनि वर्षेनि पानी हाँसले मात्र २ हजार किलोभन्दा बढी माछा खाएर क्षति पुर्याउने गरेको छ ।’
मंसिरको दोस्रो सातादेखि यहाँ बाहिरबाट पानी हाँस आउने गरेका छन् । ती हाँसबाट माछा जोगाउन मत्स्य विकास केन्द्रले हेरालुसहित भुरा माछा भएको पोखरीमा जाली (नेट) टाँगेको छ । जालीबाट पोखरीमा हाँस छिर्न नसकोस भनेर जाडोको समयमा साइबेरियाबाट आउने हाँसले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित मत्स्य केन्द्रमा पालिएका माछा खाएर ठूलो क्षति पुर्याउने भएकाले माछाको सुरक्षार्थ माछा पोखरीमा नाइनलको जाली टाँग्नुको साथै तीन जना हेरालु खटाएको हो ।
हेरालुले ढ्यांग्रो ठोकेर कराउँदा होस वा गुलेली हान्दा पनि दर्जन भन्दाबढी हाँस पोखरीमा एकै चोटी डुबुल्की मारेर माछाको शिकार गर्ने गरेका छन् । मत्स्य विकास केन्द्रले त्यतिमात्र नभइ शिकारीहरुलाई हाँस मार्न माछा पोखरीमा निमन्त्रणा पनि गरेको छ ।
विगतमा एउटा हाँस मारेवापत केन्द्रले २ केजी माछासम्म दिने गरेको थियो । गुलेली बाज र इयरगन चलाउनेहरुले पनि हाँसको नियन्त्रण गर्न नसकेपछि मत्स्य विकास केन्द्र हेटौंडाले विगत दुई वर्षदेखि माछा पोखरीमा जाली टाँग्ने गरेको हो । सबै पोखरीमा जाली टाँगिएको छैन । जाली नटाँगिएको पोखरीका माछा पानी हाँसले खाने गरेका छन् ।
अहिले २ सय भन्दाबढी हाँसले माछा पोखरीका रुखहरुलाई बासस्थान बनाइरहेका छन् ।
४७ हेक्टर जमिनमा फैलिएको उक्त केन्द्रका सानो ठूलो गरेर ५३ वटा माछा पोखरी छन् । हेटौंडा बजारबाट ४ किलोमिटरको दूरीमा रहेको यस केन्द्रले विशेष गरी खाने माछा भन्दा माछाको भुरा उत्पादन गरेर बिक्री गर्ने गरेको छ । चिसो पानीमा उत्पादन गरेको माछाको भुरा स्वस्थ्य र बलियो हुने भएकाले यहाँ उत्पादन गरेको माछाको भुरा तराई क्षेत्रका माछापालक कृषकले मात्र नभइ भारतको बिहारका किसानले पनि खरिद गरी लिने गरेका छन् ।
उक्त केन्द्रले गत वर्ष ४ करोड ४० लाख माछाको भुरा उत्पादन गरेर बिक्री गरेको थियो । त्यसमध्ये २० लाख माछाको भुरा बिहारका माछापालक कृषकले किनेर लगेका थिए ।
