लापसे आरोपमा भीमफेदी–कुलेखानी सडकमा ११ सवारी चालक पक्राउ

भीमफेदी अस्पतालका चिकित्सक डा. प्रविण पाठकसहितको टोलीले १ सय ११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा ११ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो।

माघ १, २०८२

प्रताप विष्ट

11 drivers arrested on Bhimphedi-Kulekhani road on charges of negligence

What you should know

हेटौंडा — हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी सडकमा लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त टोलीले सुरक्षा जाँचका क्रममा बुधबार ११ जनालाई पक्राउ गरिएको हो।

भीमफेदी अस्पतालका चिकित्सक डा. प्रविण पाठकसहितको टोलीले १ सय ११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा ११ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागुऔषध सेवन गर्ने ११ जनामध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा ६ जना सुमो चालक र ३ जना इभी (विद्युतीय) गाडीका चालक रहेको र अन्य २ जना भने फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेको प्रहरीले जानकारी दिएको छ।

पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीको समन्वयमा चालक र सवारीको विशेष परीक्षण सुरु गरिएको प्रहरीको भनाई छ। यात्रुको जीउधन जोखिममा पार्दै लापरवाहीपूर्वक सवारी चलाउने ती चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।

पुस २० गते भीमफेदी गाउँपालिका–६ जुरिखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए। यही घटनापछि स्थानीय प्रशासन र प्रहरीलाई सर्वसाधारणले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेको विषयमा जाँच गर्न माग गर्दै आएका थिए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully