देवघाटमा त्रिशूली नदीसँग मिल्ने कालिगण्डकी नदीमा शालिग्राम शिला पाइन्छ, जसका कारण यो नदीको जल अमृत समान भएका कारण भक्तजनहरू स्नान गर्न आउने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सुवेदीले बताए ।
What you should know
चितवन — मकर स्नान गर्न देवघाट आउनेले प्लास्टिकका झोला नल्याउन देवघाट क्षेत्र विकास समितिले अपिल गरेको छ । ‘प्लास्टिक ल्याएर आस्थाको धरोहरलाई धुमिल नबनाऊँ,’ समितिका अध्यक्ष ईश्वरीराज लौडारीले भने ।
समितिले मकर स्नान मेलाका बारेमा जानकारी दिन मंगलबार देवघाटमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । मुक्तिनाथ क्षेत्र दामोदर कुण्डबाट बग्दै आएको कालिगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएको त्रिशूली नदीको संगमस्थल देवघाटमा मकर स्नान गर्न माघे संक्रान्तिको अघिल्लो दिनबाट देशका विभिन्न ठाउँ र सीमावर्ती भारतीय गाउँबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।
देवघाट क्षेत्र विकास समितिले देवघाटलाई पुस ११ गते प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको थियो । ‘यसको कार्यान्वयन जटिल विषय हो । तर फोहोरले पवित्र नदी र धार्मिक स्थललाई समस्याग्रस्त बनाएको थियो । सुरुवात गर्नै पर्ने थियो । अभियानका रूपमा सुरुवात भएको हो । यसमा सबैले सहयोग गर्नुपर्ने हुन्छ,’ समितिका अध्यक्ष लौडारीले भने ।
फोहर व्यवस्थापनका लागि डस्टबिनहरू राखेको र अझै थप्दै जाने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । मकर स्नानका लागि तीन लाखभन्दा बढी देवघाट आउने गर्छन् । यातायात व्यवस्थापनदेखि सुरक्षाका धेरै काम पूरा भएको उनले जानकारी दिए । देवघाटधाममा रहेको झोलुङ्गे पुल मर्मत गरेको, नदी तरेर आउन चाहनेका लागि ५० वटा डुंगा राखेको पनि उनले बताए ।
ठिमुरा र दासढुंगाको पक्की पुल तरेर पनि धेरै जना देवघाट आउने जाने गर्छन् । नारायणगढ हुँदै आँपटारीबाट देवघाटसम्म पुग्ने चल्तीको बाटोमा मकर स्नानका दिन देवघाटबाट जाने गाडी मात्रै चल्ने छन् । स्नान गर्ने क्षेत्रमा नदी गहिरो र तेज धाराको हुने गरेका कारण डोरीले सुरक्षित घेरा तय गरेको र उक्त घेरा नाघेर स्नान नगर्न पनि देवघाट क्षेत्र विकास समितिले सर्वसाधारणलाई अपिल गरेको छ ।
देवघाटमा त्रिशूली नदीसँग मिल्ने कालिगण्डकी नदीमा शालिग्राम शिला पाइन्छ, जसका कारण यो नदीको जल अमृत समान भएका कारण भक्तजनहरू स्नान गर्न आउने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक गुरुप्रसाद सुवेदीले बताए । यस्तो महत्त्वपूर्ण नदीलाई प्लास्टिक लगायतका अन्य फोहोरले विकृत गराउन नहुने उनको भनाइ छ ।
