८४ वर्षको उमेरमा नागरिकता

‘अब त म पनि यही देशकी भएँ,’ नागरिकताको निस्सा समाउँदै लालकुमारी श्रेष्ठले आँसु झारिन् ।

पुस २९, २०८२

अनिश तिवारी

Citizenship at the age of 84

सिन्धुपाल्चोक — जीवनका अधिकांश वर्ष राज्यको अभिलेखबाहिर बिताएकी चौतारा साँगाचोकगढी नगरपालिका–१० मा बसोबास गर्दै आएकी ८४ वर्षीया लालकुमारी श्रेष्ठले अन्ततः नेपाली नागरिकता पाएकी छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार  लालकुमारीलाई वंशजका आधारमा मंगलबार नागरिकता प्रदान गरिएको हो । 'वडाको सिफारिस, प्रहरी रिपोर्ट र समाजका सबै पक्षको सर्जमिनका आधारमा प्रक्रिया पूरा गरियो,' उनले भने ।

स्थानीय तहदेखि जिल्ला प्रशासनको सहकार्य र सामाजिक सर्जमिनपछि चौताराबाट नागरिकता जारी हुँदा उनका काँपेका हात र रसाएका आँखाले त्यो क्षणको गहिरो अर्थ बोले। ‘अब त म पनि यही देशकी भएँ,’ नागरिकताको निस्सा समाउँदै उनले आँसु झारिन्।

लालकुमारीको जन्म १९९८ सालमा बाह्रबिसे नगरपालिका–पलातीमा भएको हो। राणा शासनको कठोर नियन्त्रणका बीच जन्मिएकी उनी जीवनका अनेक मोड पार गर्दै पनि नागरिकताको कानुनी ढोकासम्म पुग्न सकेकी थिइनन्।

उमेर ढल्कँदै जाँदा पहिचानविहीनताको पीडा झन् गहिरिँदै गएको थियो। मंगलबार नागरिकता पाएपछि वृद्धाले  प्रमुख जिल्ला अधिकारीसहित समन्वय र सहजीकरण गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

नेपालको संविधानले नागरिकताको अधिकार सुनिश्चित गरे पनि लालकुमारीको घटनाले टुहुरा, गरिब, अशिक्षित, महिला र सीमान्तकृत समुदाय अझै पनि सरकारी कागजातबाट वञ्चित हुने यथार्थ उजागर गरेको छ  । प्रशासनिक प्रक्रियाको जटिलता, सूचना अभाव र सामाजिक पहुँचको कमीले धेरैको जीवन नागरिकताविहीन बनिरहेको सन्देश यस घटनाले दिएको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully