मन्थलीको चिस्यान केन्द्र अझै आएन सञ्चालनमा

निर्माण कम्पनीले झन्डै दुई वर्ष ढिलो गरी २०८० साउनमा संरचना निर्माण सम्पन्न गरे पनि अहिलेसम्म केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन।

पुस २८, २०८२

नवराज श्रेष्ठ

Manthali's humidity center still not operational

What you should know

रामेछाप — मन्थली नगरपालिका–१ सानीमदौमा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन।

बाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०/३० लागत साझेदारीमा ७ करोड रुपैयाँ बढी खर्चेर निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र हालसम्म प्रयोगविहीन छ।

२०७८ असारभित्र निर्माण सम्पन्न गर्ने गरी इजि इन्फ्रा प्रालि काठमाडौंले ठेक्का लिएको थियो। निर्माण कम्पनीले झन्डै दुई वर्ष ढिलो गरी २०८० साउनमा संरचना निर्माण सम्पन्न गरे पनि अहिलेसम्म केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन। 

स्थानीय पूर्ण सुवेदीका अनुसार वर्षौंसम्म केन्द्र सञ्चालनमा नआउँदा लगानीको उपयोगिता र जबाफदेहितामाथि प्रश्न उठेको छ। उनले भने,'ठूलो सार्वजनिक लगानीका यी संरचना समयमै सञ्चालनमा नआउँदा किसानले प्रत्यक्ष लाभ लिन पाएका छैनन् । अब प्रदेश सरकारको प्रतिबद्धता व्यवहारमा कति छिटो देखिन्छ भन्नेमा ध्यान केन्द्रित छ।'

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठका अनुसार मुख्य संरचना तयार भए पनि घेरबार, कर्मचारी आवास र शौचालयजस्ता अत्यावश्यक पूर्वाधार निर्माण बाँकी छ। 'प्रदेश सरकारले केन्द्रलाई औपचारिक रूपमा स्थानीय सरकारलाई हस्तान्तरण गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा बाँकी संरचना निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ। काम सुरु भइसकेको छ र यही वर्षभित्र केन्द्र सञ्चालनमा ल्याउने तयारी हो,' उनले भने।

चिस्यान केन्द्र निर्माणमा बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख रुपैयाँ साझेदारी रहेको छ। नगरपालिकाले आफ्नो हिस्सा रकम प्रदेश सरकारलाई पहिल्यै बुझाइसकेको छ। साथै केन्द्रसम्म विद्युत् लाइन विस्तार र टीओडी मिटर जडानसमेत नगरकै लगानीमा गरिएको छ।

बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलका अनुसार तत्कालीन समयमा प्रदेशभर ४८ करोड रुपैयाँभन्दा बढी लगानीमा नौ वटा चिस्यान केन्द्र निर्माण गरिएको हो।  

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully