बालविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा अधिकांश नदी र खोला किनारमा बस्ने आदिवासी बोटेका समुदायका बालबालिका छन्।
What you should know
चितवन — माडी नगरपालिका–१ पाण्डवनगरको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले आइतबार न्यानो कपडा सहयोग पाएका छन्।
बालविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा ७९ बालबालिका पढ्ने गर्छन्। उनीहरु अधिकांश नदी र खोला किनारमा बस्ने आदिवासी बोटेका समुदायका बालबालिका छन्।
उनीहरुका लागि श्रीकृष्ण प्रणामी युवा परिषद्को काठमाडौं जिल्ला समिति अन्तर्गत रहेको नवतनधाम प्रारम्भिक समितिले ट्रयाकसुट, टोपी, मोजा, मफलर र झोला सहयोग गरेको हो।
समितिका अध्यक्ष रुपेश रिजालका अनुसार सबै विद्यार्थीका लागि १ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध भएको छ । विद्यालयमा बोटे समुदायका मात्रै ६७ जना बालबालिका पढ्छन्। ‘चितवनमा बोटे समुदायको बाक्लो बसोबास भएको गाउँ नै यही हो,’ कार्यक्रमका प्रमुख अतिथि रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष अमितकुमार लामाले भने।
चितवन निकुञ्जनजिकै रहेको यो बस्ती रिउ र अन्य साना खहरे खोलाले घेरिएको छ। बस्तीको आडैमा सोमेश्वर पहाडको जंगल पनि छ । यो बस्तीमा बर्खामा बाढी र अरु बेला जंगली जनावरको डर रहन्छ। आफ्नो नाममा जग्गाधनी पूर्जासमेत नभएका प्रायः न्यून आए भएकाहरुको बसोबास भएको गाउँका बालबालिकालाई उपलब्ध भएको न्यानो सहयोगले ठूलो राहत हुने वडाध्यक्ष लामाले बताए।
श्रीकृष्ण प्रणामी युवा परिषद्ले २०७५ सालदेखि जाडोयाममा देशका विभिन्न भेगहरुमा न्यानो बाँड्न सुरु गरेको केन्द्रीय सदस्य तथा स्वयमसेवक संयोजक राजकुमार गजुरेलले बताए । ‘तराईमा शीतलहर चल्दा हामी सुरुमा ११० पिस ब्लाङ्केट लिएर बारा जिल्ला गएका थियौं । त्यसयता हरेक वर्ष हिउँदयाममा न्यानो लुगा बाँड्दै आएका छौं,’ गजुरेलले भने ।
विद्यार्थीलाई पनि स्टेसनरी र न्यानो कपडा उपलब्ध गराउनुका साथै पढाइ खर्चमा पनि सहयोग गर्न सुरु गरेको उनले बताए । तराईको पूर्व र पश्चिम भेगका विभिन्न जिल्लासँगै हिमाली जिल्ला मुगुसम्म सहयोग गरेको उनले बताए । परिषद्मा आवद्ध व्यक्तिहरुले स्वतस्फुर्त दिने रकमबाट सहयोग सामाग्री जुटाउँदै आएको उनले बताए ।
