मेलामा तरकारी, फलफूल तथा नर्सरी, कृषि बाली, पशुपन्छी र लघु उद्यम गरी ५२ वटा स्टल राखिएको छ।
What you should know
रामेछाप — मन्थली नगरपालिकामा स्थानीय उत्पादनको बजारीकरण र कृषकको व्यावसायिकता प्रवर्द्धन गर्ने उद्देश्यले नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला शनिवारबाट सुरु भएको छ।
मन्थली–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा आइतबारसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले उद्घाटन गरे।
उद्घाटन समारोहमा मन्त्री पौडेलले यस्ता मेलाहरू कृषक तथा उद्यमीका लागि आफ्ना उत्पादन, सीप र समस्याहरू प्रस्तुत गर्ने महत्त्वपूर्ण थलो भएको बताए। मन्थली नगरपालिकाले कृषक र लघु उद्यमीलाई लक्षित गर्दै मेला आयोजना गर्नु सकारात्मक र उदाहरणीय अभ्यास भएको उनको भनाइ थियो।
बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यसहित मेला आयोजना गरिएको उल्लेख गर्दै यसले कृषकका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। यस्ता मेलाबाट कृषि उत्पादनको बजारीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरणमा थप टेवा पुग्ने उनले बताए।
नगर प्रमुख लव श्रेष्ठले नगरको आम्दानीको स्रोत विस्तार गर्ने, कृषि पर्यटन प्रवर्द्धन गर्ने तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित गत वर्षदेखि मेला सञ्चालन गरिएको जानकारी दिए। मेलाले नगरभित्र उत्पादित कृषि, पशुपन्छी तथा लघु उद्यमका सामग्रीलाई प्रवर्द्धन गर्दै बजारसँग जोड्न सहयोग पुग्ने उनको विश्वास छ।
मन्थली नगरपालिका–१३ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नवराज थापामगरका अनुसार मेलामा तरकारी, फलफूल तथा नर्सरी, कृषि बाली, पशुपन्छी र लघु उद्यम गरी ५२ वटा स्टल राखिएको छ। सहभागी कृषक तथा उद्यमीका लागि निःशुल्क स्टल, आवास, भोजन र सामग्री ढुवानीमा सहुलियतको व्यवस्था गरिएको छ।
मेलामा सहभागीमध्ये १० विधामा उत्कृष्ट कृषक तथा उद्यमीलाई जनही ६ हजार ७ सय रुपैयाँका दरले पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ। गत वर्ष करिब ७ हजार दर्शकले मेला अवलोकन गरेका थिए भने १० लाख रुपैयाँ बराबरको उत्पादन बिक्री भएको थियो। यस वर्ष १० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।
