ईन्द्रसरोवरका ५ सय २३ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

५ वडा रहेको यो पालिकाको पुस ३० सम्म १ हजार ३ सय ५ जना जेष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई न्यानो कपडा र ब्याङ्केट उपलब्ध गराउने योजना छ।

पुस २५, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले पालिकाका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण र स्वास्थ्य परीक्षण थालेको छ।

जाडोबाट जोगाउन जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बृद्धबृद्धालाई निशुल्क स्वास्थ्य परीक्षणसँगै न्यानो कपडासहित ब्याङकेट उपलब्ध गराएको हो। 

शुक्रबार वडा-२ का २ सय ७७ जना जेष्ठ नागरिक, अपाङ्गता भएका  र एकल महिलालाई न्यानो कपडासहित ब्याङ्केट वितरण गरिएको गाउँपालका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए । उनीहरुको स्वास्थ्य परीक्षण गरेर निशुल्क रुपमा औषधि समेत उपलब्ध गराएको उनले बताए। 

बिहीबार ईन्द्रसरोवर-१ मार्खुस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा २ सय ४६ जनालाई न्यानो कपडा र व्याङ्केट उपलब्ध गराउनुको साथै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । आवश्यक पर्नेलाई निशुल्क रुपमा औषधि पनि उपलब्ध गराइएको थियो । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बृद्धबृद्धालाई न्यानो उपलब्ध गराउन कपडा र ब्याङ्केट उपलब्ध गराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए।

५ वडा रहेको उक्त पालिकाले पुस ३० गतेसम्म पालिकाका १ हजार ३ सय ५ जना जेष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई न्यानो कपडा र ब्याङ्केट उपलब्ध गराइने उनले बताए। पुसको चिसोले कठ्यांग्रिएका मार्खुका ८३ वर्षीय शरण वलामी न्यानो कपडा पाउँदा उनी खुसी देखिन्थे ।    

प्रताप

Link copied successfully